चित्रकलाले महोत्सवमा आकर्षण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    चित्रकलाले महोत्सवमा आकर्षण

    खबरपुञ्ज संवाददाता

    १९ फाल्गुन २०८०, शनिबार

    दमाैली । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ स्थित मित्रता माध्यमिक विद्यालयका विद्यार्थीले बनाएका चित्र आँबुखैरेनी महोत्सवमा राखिएको छ । गत बिहीबारदेखि सुरु भएको दोस्रो आँबुखैरेनी महोत्सवमा राखिएका चित्रले महोत्सवमा आकर्षण थपेको छ ।

    पढ्दै कमाउँदै कार्यक्रम अन्तर्गत कक्षा ११ मा अध्ययनरत २० जना विद्यार्थीले चित्रकला सीप सिकेर आफूले बनाएका विभिन्न प्रकारका चित्र महोत्सवमा प्रदर्शनीमा राखेका छन् । त्यसका लागि महोत्सव आयोजकले विद्यार्थीहरुका लागि एउटा स्टल निःशुल्क उपलब्ध गराएको छ ।

    विद्यार्थीले सिकेको सीप सर्वसाधारणलाई प्रदर्शन गर्न र चित्रहरु विक्रीका लागि महोत्सव उपयुक्त स्थान बनेकाे चित्रकला प्रशिक्षक पवन नेपालीले जानकारी दिए। उनले भने, “महोत्सवमा आउने सर्वसाधारणले विद्यार्थीले बनाएका चित्र मन पराउनुभएको छ । चित्रहरु विक्री भएकाे छ । माग पनि बढ्दाे छ ।”

    हालसम्म करिब २० हजार बराबरकाे चित्र विक्री भइसकेकाे उनले बताए । एउटा चित्र दुई हजारदेखि दुई हजार पाँचसय सम्म विक्री भएकाे छ । बुद्धकाे चित्र भने ६ हजारमा विक्री भएकाे छ ।

    विद्यार्थीलाई पढाईसँगै सीप सिकाएर आत्मनिर्भर बनाउन यो कार्यक्रम सुरु गरिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानको भनाइ छ । सैद्धान्तिक पढाईसँगै व्यावहारिक शिक्षालाई पनि समानान्तर रुपमा अघि बढाउने योजना सहित पालिकाको विभिन्न कार्यक्रममध्ये चित्रकलालाई पनि प्राथमिकतामा राखेर कार्यक्रमलाई अघि बढाइएको चुमानले बताए।