पोखरा । पोखराको काहुँडाँडामा भीषण डढेलो लागेको छ । पोखरा ११ स्थित काहुँडाडामा सोमबार राति करिब ९ बजेको समयमा नजिकैको जंगलबाट सल्किएको आगो फैलिएको हो ।
जंगलबाट नजिकै रहेको बस्ती डढेलोको जोखिममा परेको छ । डढेलो लागिरहेको स्थान र बस्तीको दूरी करिब एक सय मिटरको फरकमा मात्रै रहेको हुँदा उक्त बस्ती जोखिममा रहेको स्थानीय बासिन्दाले जनाएका छन् । अहिले यहाँका बासिन्दा त्रसित बनेका छन् ।
आगो निभाउन दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीय बासिन्दा प्रयासरत छन् । तर आगलागी धेरै ठाउँमा फैलिएको र रातको समय भएकाले नियन्त्रणमा लिन गाह्रो परिरहेको छ । आगलागी के कारणले लाग्यो भन्ने खुल्न सकेको छैन ।