दमौली । व्यास नगरपालिका-४ स्थित कन्काई ग्लोवल एकेडेमीका विद्यार्थीले सोही वडामा रहेको नुरी हन्फी जामे मस्जिदको भ्रमण गरेका छन् । कक्षा ६ र ७ मा अध्ययनरत विद्यार्थीले मंगलबार मस्जिदको भ्रमण गरेका हुन् ।
बालबालिकालाई सानै उमेरदेखि सामाजिक सद्भाव, सहअस्तित्व तथा सहकार्य गर्ने उपयुक्त वातावरण प्रदान गरिनुपर्छ भन्ने यथार्थलाई आत्मसाथ गर्दै मस्जिदको भ्रमण गराइएको एकेडेमीका प्रबन्ध निर्देशक मिलन गोदारले बताए ।
गैरमुस्लिम समुदायका बालबालिकालाई मुस्लिम धार्मिक तथा सांस्कृतिक सम्पदासँग परिचित गराउँदै सहिष्णुतालाई व्यवहारमा लागू गर्न प्रेरित गर्ने उद्देश्यका साथ भ्रमण गराइएको गोदारको भनाइ छ ।
त्यसक्रममा दमौली मुस्लिम अन्जुमन कमिटीका सदस्य महम्मद गफ्फारले विद्यार्थी र शिक्षकहरूलाई मस्जिद सम्बन्धी धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक पक्षको संक्षिप्त जानकारी गराएका थिए ।
गोदार भन्छन्, ‘अन्य भ्रमण भन्दा केही फरक भएकाले विद्यार्थीहरूले नौलो ज्ञान तथा अनुभव हासिल गरेका थिए । उनीहरूको पाठसँग सम्बन्धित विषय भएको हुँदा भ्रमण फलदायी रहेको पाइयो ।’