सत्तारुढ दलबीच प्रदेश भागबण्डामा सहमति नजिक
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    सत्तारुढ दलबीच प्रदेश भागबण्डामा सहमति नजिक

    खबरपुञ्ज संवाददाता

    १३ चैत्र २०८०, मंगलवार

    काठमाडौँ । सत्ता गठबन्धनका दलहरू प्रदेश सरकार भागबन्डामा सहमति नजिक पुगेका छन् । एमालेले कोशी, गण्डकी र कर्णाली, माओवादीले वाग्मती र लुम्बिनी जसपाले मधेश तथा नागरिक उन्मुक्तिले सुदूरपश्चिमको मुख्यमन्त्री पाउने लगभग निश्चित भएको छ ।

    प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालबीच सोमबार भएको अनौपचारिक छलफलमा प्रदेशको भागबन्डा मंगलबारसम्म टुंग्याउने सहमति भएको हो । 

    सोमबार माओवादीको वाग्मती प्रदेश केन्द्रीय सदस्यहरूको बैठकमा सहभागी भएका प्रधानमन्त्री दाहालले मंगलबार बेलुकासम्म प्रदेश सरकारको नेतृत्व टुंग्याइने बताएका छन् । ‘पुरानै नेतृत्वको सरकारमा सहमति भए विश्वासको मत लिने हुन्छ । नयाँ भए नयाँ प्रक्रियाबाट अघि बढ्छ,’ उनले भने । तीन नेताबीच भएको छलफलमा कोशीमा पहिलो चरणमा एमाले, दोस्रो चरणमा माओवादी, मधेशमा जनता समाजवादी पार्टीको नेतृत्वको सरकार निरन्तरता र दुई वर्षपछि एमाले, वाग्मतीमा माओवादीकै निरन्तरता र त्यसपछि एमालेले लिने गरी सहमति नजिक पुगेका छन् ।

    यस्तै, गण्डकी र लुम्बिनीमा पहिले माओवादी, त्यसपछि एमालेको मुख्यमन्त्री हुने गरी सहमतिको तयारी भइरहेको छ । कर्णालीमा माओवादीको नेतृत्व परिवर्तन गरी एमाले र सुदूरपश्चिममा नागरिक उन्मुक्तिलाई मुख्यमन्त्री दिने गरी गृहकार्य भएको छ । एकीकृत समाजवादीका अध्यक्ष नेपालले मधेश वा वाग्मतीमा आफ्नो पार्टीलाई केही समय मुख्यमन्त्री दिनुपर्ने दाबी गरेका छन् । एकीकृत समाजवादी मधेशमा निर्णायक छ भने वाग्मतीमा हाम्रो नेपाली पार्टी सरकार गठनमा निर्णायक देखिएको छ । कर्णालीमा एमालेलाई नेतृत्व दिनेबारे दाहाल सकरात्मक भए पनि माओवादीभित्र विवाद छ । हाल कर्णालीमा माओवादीका राजकुमार शर्माको नेतृत्वमा सरकार भएकाले अझै कम्तीमा एक वर्ष यही नेतृत्व हुनुपर्ने माओवादीको केही नेताको भनाइ छ । (इकान्तिपुरबाट)