धार्मिक पर्यटनको आकर्षक गन्तव्य बन्दै तनहुँको छिम्केश्वरी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    धार्मिक पर्यटनको आकर्षक गन्तव्य बन्दै तनहुँको छिम्केश्वरी

    खबरपुञ्ज संवाददाता

    १२ चैत्र २०८०, मंगलवार

    दमौली । समुद्र सतहबाट दुई हजार एक सय ३४ मिटर उचाइमा अवस्थित तनहँुको छिम्केश्वरी मन्दिर क्रमशः धार्मिक पर्यटकीयस्थलका रूपमा विकास भइरहेको छ ।   
      
    आँबुखैरेनी गाउँपालिका–५ छिम्केश्वरीमा रहेको प्रसिद्ध धार्मिकस्थल छिम्केश्वरी माइ गाउँपालिकाकै प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्यस्थल हो । पृथ्वीराजमार्गको आँबुखैरेनीदेखि लाब्दीसम्म १५ किलोमिटर जीप यात्रा र छोटो पदयात्रापछि छिम्केश्वरी पुगिन्छ । यहाँबाट देखिने अपि, सैपाल, धौलागिरि, अन्नपूर्ण, मनास्लु, बुद्ध हिमालका मनोरम दृ्श्यले जोकोहीलाई मोहित बनाउँछ ।   
      
    पछिल्लो समय छिम्केश्वरीमा पूजाआजा र दर्शनका लागि दैनिक भक्तजन तथा आन्तरिक पर्यटक आउने क्रम बढेको छ । छिम्केश्वरीमा दैनिक ५० देखि एक सयको हाराहारीमा आन्तरिक पर्यटक आउने गरेका छन् । यहाँ विशेषगरी नयाँवर्ष र होलीका बेला भक्तजनको घुइँचो लाग्ने गरेको छ । यस वर्षको होलीमा गत आइतबार पाँच हजार भक्तजनले पूजाआजा गरेको छिम्केश्वरी पर्यटन विकास समितिका अध्यक्ष कृष्ण तामाङले खबरपुञ्जलाई जानकारी दिए ।   
      
    यो मन्दिरमा तनहुँका अतिरिक्त छिमेकी जिल्ला लमजुङ, गोरखा, चितवनबाट पनि भक्तजन आउने गरेका मन्दिरका पुजारी धनराज गुरुङ बताउँछन् । उनका अनुसार एकादशी र औँसी बाहेकका दिनमा पूजाआजा हुने यस मन्दिरमा पशुवली दिने परम्परा पनि छ । गोरखा मनकामनाकी दिदीका रुपमा पुजिँदै आएकी छिम्केश्वरीमाईमा पूजा गरेपछि मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ ।   
      
    गण्डकी प्रदेश सरकारले घोषणा गरेको एक सय दश पर्यटकीय गन्तव्यमा सूचीकृत छिम्केश्वरीमा रु ४५ लाखको लागतमा छिम्केश्वरी मन्दिर पुनर्निर्माण हालै पूरा भएको छ । प्रदेश सरकारको सहयोगमा पैदलमार्ग र रेलिङ निर्माण गरिएको छ । आर्थिक वर्ष ०७५÷७६ मा रु ४१ लाख ६३ हजार सात सयको लागतमा चार सय ८६ मिटर ढुङ्गाको सिढी निर्माण सम्पन्न भएको छ भने आर्थिक वर्ष ०७६÷७७ मा रु ३५ लाख ९९ हजार एक सय ४१ को लागतमा तीन सय पाँच मिटर ढुङ्गाको सिढी र रेलिङ निर्माण सम्पन्न भइसकेको छ ।   
      
    आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले गाउँपालिकाले छिम्केश्वरीलाई प्राथमिकतामा राखेको बताए ।

    छिम्केश्वरीसम्म पुग्ने सडकमा कालोपत्र सुरु भएको छ । गण्डकी प्रदेश सरकारको सहयोगमा यस खण्डमा कालोपत्र गर्न लागिएको हो । सडक कालोपत्रका लागि प्रदेश सरकारबाट रु आठ करोड ४७ लाख र सङ्घ सरकारबाट समपुरक कोष अन्तर्गत रु ८ करोड ४७ लाख बजेट विनियोजन भएको छ । सडक कालोपत्रको काम काठमाडौस्थित शर्मा एण्ड काष्टमण्डप जेभीले ठेक्का पाएको छ ।   
      
    छिम्केश्वरी पुग्ने भक्तजनको सहजताका लागि छिम्केश्वरीको काखमा घरबास समेत सञ्चालन भएका छन् । । आँबुखैरेनी गाउँपालिका–६ स्थित पर्यटकीय गाउँ हिलेखर्कमा स्थानीयवासीले घरबास सञ्चालन गरेका हुन् । गुरुङ समुदायको बाहुल्य रहेको यहाँका घरबासमा आउनेलाई कोदो तथा फापरको ढिँडो, फापर र कोदोको सेलरोटी, भुटेको भटमास, गुन्द्रुकको अचार दिइने गरेको घरबास व्यवस्थापन समितिले जनाएको छ ।
      
    मन्दिर संरक्षण गर्न चन्दा सङ्कलन   
      
    छिम्केश्वरी पर्यटन विकास समितिले भक्तजनबाट चन्दा सङ्कलन गरी छिम्केश्वरी मन्दिर संरक्षण गर्ने भएको छ । मन्दिरको समग्र विकासका लागि भक्तजनबाट चन्दा सङ्कलन गरिने समितिले जनाएको छ । समितिले मन्दिर संरक्षण, पुजारी व्यवस्थापन, भक्तजन विश्रामस्थल एवं उनीहरूको सुरक्षा , सार्वजनिक शौचालय निर्माणलगायत अधिकभन्दा अधिक पर्यटक आकर्षित गर्न मन्दिर क्षेत्रमा आधारभूत भौतिक पूर्वाधार निर्माणको योजना बनाएको पालिका अध्यक्ष चुमानले बताए ।   
    –––