तनहुँका स्थानीय तहलाई रु एक अर्ब वित्तीय समानीकरण अनुदान (विवरण सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    तनहुँका स्थानीय तहलाई रु एक अर्ब वित्तीय समानीकरण अनुदान (विवरण सहित)

    खबरपुञ्ज संवाददाता

    १४ चैत्र २०८०, बुधबार

    दमाैली । तनहुँका स्थानीय तहलाई सङ्घीय सरकारको तर्फबाट रु एक अर्ब दश करोड भन्दा बढी वित्तीय समानीकरण अनुदान प्राप्त हुने भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिस बमोजिम तनहुँका चार नगरपालिका र छ गाउँपालिकालाई रु एक अर्ब दश करोड ५७ लाख वित्तीय समानीकरण अनुदान प्राप्त हुन लागेको हो ।

    आयोगले आर्थिक वर्ष २०८१÷८२ का लागि नेपालको संविधान र प्रचलित कानून बमोजिम सङ्घीय सञ्चित कोषबाट प्रदेश र स्थानीय सरकारलाई प्रदान गरिने वित्तीय समनीकरण अनुदान सम्बन्धमा सरकारलाई सिफारिस गरेको जनाएको छ ।

    तनहुँलाई आगामी आर्थिक वर्षमा प्राप्त हुने अनुदान रकम चालु आर्थिक वर्षको तुलनामा रु नौ करोड ९९ लाख बढी हो । चालु आर्थिक वर्षमा जिल्लालाई एक अर्ब ५८ लाख वित्तीय समानीकरण अनुदान प्राप्त भएको थियो ।

    आयोगका अनुसार तनहुँको भानु नगरपालिका रु १३ करोड ६१ लाख प्राप्त गर्नेछ । व्यास नगरपालिका रु १८ करोड नौ लाख, म्याग्दे गाउँपालिकाले रु नौ करोड ४८ लाख, शुक्लागण्डकी नगरपालिकाले रु १४ करोड ४६ लाख, भिमाद नगरपालिकाले रु १० करोड ९७ लाख, घिरिङ गाउँपालिकाले रु आठ करोड ४१ लाख, ऋषिङ गाउँपालिकाले रु नौ करोड ६१ लाख, देवघाट गाउँपालिकाले रु आठ करोड ७० लाख, बन्दीपुर गाउँपालिकाले रु आठ करोड ७० लाख लाख र आँबुखैरेनी गाउँपालिकाले रु नौ करोड ४१ लाख अनुदान पाउनेछन् ।

    आयोगले गरेको मूल्याङ्कनमा यो वर्ष भिमाद नगरपालिका धेरै अङ्क प्राप्त गरी प्रथम भएको छ । भिमादले ४१.७६ प्रतिशत अङ्क प्राप्त गरेको हो ।

    सम्बन्धित स्थानीय तह र निकायबाट प्राप्त तथ्याङ्क समेतको आधारमा आयोगले कार्यसम्पादन मूल्याङ्कन गरेर अङ्क प्रदान गरेको हो । कार्यसम्पादन मूल्याङ्कनका लागि स्थानीय तहका लागि १७ सूचक तय गरिएको छ ।

    समयमै बजेट पेश गरे नगरेको, असार मसान्तभित्र बजेट पास गरे नगरेको, राजश्व बाँडफाँट गरे नगरेको, आगामी आर्थिक वर्षको बजेटको अनुमान अर्थमन्त्रालयमा पुस मसान्तभित्र पेश गरे नगरेको विषयलाई सूचकमा समावेश गरिएको थियो ।

    यस्तै आन्तरिक राजश्वको लक्ष्य र सङ्कलन, अघिल्लो आर्थिक वर्षको बजेट र खर्चको अवस्था, बेरुजु, सुत्रको प्रयोग, आवधिक योजना तय गरे नगरेको, विद्यालयमा विद्यार्थी भर्नाको अवस्था, गर्भवती महिलाको सङ्ख्या, संस्थागत प्रसूति सङ्ख्या, बालबालिकाको सङ्ख्या लगायत शीर्षकका सूचकमा आयोगले स्थानीय तहलाई अङ्कभार दिएको हो ।

    दश स्थानीय तहमध्ये भिमाद प्रथम हुन सफल भएको छ भने देवघाट गाउँपालिका कमजोर अवस्थामा छ । देवघाट गाउँपालिकाले १६.३७ प्रतिशत अङ्क प्राप्त गरेको छ । यसैगरी भानु नगरपालिकाले २९.६२, व्यास नगरपालिकाले ३४.९९, म्याग्दे गाउँपालिकाले २४.५२, शुक्लागण्डकी नगरपालिकाले २९.२६, घिरिङ गाउँपालिकाले १८.७६, ऋषिङ गाउँपालिकाले ३४.०१, बन्दीपुर गाउँपालिकाले २४.६८ र आँबुखैरेनी गाउँपालिकाले ३५.६८ प्रतिशत अङ्क प्राप्त गरेको छ ।

    सर्वाधिकार सुरक्षित नोट ः यस खबरपुञ्ज डटकममा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । यस अनलाइनमा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।