दमाैली । तनहुँको आँबुखैरेनी गाउँपालिका र चीनको शाओशान शहरबीच भगिनी सम्बन्ध कायम गरिएको छ । चीनको भ्रमणमा रहेका आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानको नेतृत्वमा उक्त शहरसँग भगिनी सम्बन्ध कायम गरिएको हो ।
भगिनी सम्बन्ध कायम गर्ने कार्य आँबुखैरेनी गाउँपालिकाको विकासका लागि कोशेढुङ्गा हुने अध्यक्ष चुमानले बताए । उनले भने, “चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा चीन भ्रमणका क्रममा उक्त शहरसँग भगिनी सम्बन्ध कायम भएको छ । यसले आँबुखैरेनीको विकास र हितका लागि सहयोग पुग्नेछ ।”
सहमतिपत्रमा दुवै पक्षले आधिकारिक तथा गैरसरकारी भ्रमण आदानप्रदान गर्ने उल्लेख छ । त्यस्तै दुवै पक्षले आपसी विकास र समृद्धिका लागि अर्थतन्त्र, व्यापार, शिक्षा, संस्कृति, कृषि र पर्यटनका क्षेत्रमा आदानप्रदान र सहयोग गर्ने उल्लेख गरिएको छ ।
उक्त कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का महासचिव देव गुरुङको उपस्थिति थियो ।