वेस्ट इन्डिज ‘ए’ विरुद्धको दोस्रो खेलमा नेपाल पराजित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    वेस्ट इन्डिज ‘ए’ विरुद्धको दोस्रो खेलमा नेपाल पराजित

    खबरपुञ्ज संवाददाता

    १६ बैशाख २०८१, आईतवार

    काठमाडौ । वेस्ट इन्डिज ‘ए’ विरूद्धको दोस्रो टी-२० मा नेपाल १० रनले पराजित भएको छ।

    नेपालले पहिलो खेल जितेका कारण सिरिज १-१ को बराबरी समेत भएको छ।

    आइतबार वेस्ट इन्डिजले दिएको १६१ रन पछ्याएको नेपालले ९ विकेटको क्षतिमा १५० रन मात्र जोड्न सक्यो।

    नेपाललाई अन्तिम ओभरमा १७ रन चाहिएको थियो। ब्याटिङमा कप्तान रोहित पौडेल र आकास चन्द थिए। बलिङमा वेस्ट इन्डिजका म्याथ्यु फोर्ड थिए।

    जसमा पहिलो बलमा रोहितले रन लिन सकेनन्। दोस्रो बलमा रोहितले चौका प्रहार गरे। तेस्रो बलमा दुई रन लिने क्रममा आकास चन्द आउट भए। चौथो बलमा सागर ढकालले एक रन लिए। पाँचौ बल डट हुँदा खेल नेपालको हातबाट गएको थियो। पाँचौं बल र छैटौं  रोहितले रन लिन सकेनन्। अन्तिम ओभरमा १७ चाहिएको नेपालले ६ रन मात्र जोड्यो।

    कप्तान रोहितले नटआउट ७१ रन जोडे पनि नेपालको जितमा पर्याप्त हुन सकेन। उनले ४८ बलमा ६ चौका र २ छक्का प्रहार गरे।

    त्यसअघि खेलमा नेपालले खराब सुरूवात गरेको थियो।

    खेलका क्रममा घाइते हुँदा रिटायर्ड हर्ट हुँदा दोस्रो पटक ब्याटिङमा आएका ओपनर लोकेश बम १७ रनमा गुणाकेश मोतीबाट छैटौं ओभरमा बोल्ड भए। त्यसअघि चौथो ओभरमा कुशल भुर्तेल २ रन र पाँचौ ओभरमा अनिलकुमार साह १ रनमा आउट भएका थिए। अनिल आउट भएपछि लोकेस फेरि ब्याटिङमा भएका थिए। लोकेश आउट भए लगत्तै छैटौं ओभरको अन्तिम बलमा कुशल मल्ल शून्यमा रनआउट भए।

    गुल्सन झा ११ बलमा २६ रन, आरिफ शेखले १३ रन र दीपेन्द्रसिंह ऐरी ३ रनमा आउट भए। यस्तै सोमपाल कामी १८औं ओभरमा ३ रनमा रनआउट भए।

    बलिङमा वेस्ट इन्डिजका ओबेड र मोतीले २-२ विकेट लिए।

    वेस्ट इन्डिजको १६० रन

    कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिज ‘ए’ ले ७ विकेटको क्षतिमा १६० रन जोड्यो।

    वेस्ट इन्डिजका लागि आन्द्रे फ्लेचरले सबैभन्दा बढी ४३ रन जोडे। १८औं ओभरमा दीपेन्द्रसिंह ऐरीको बलमा लोकेश बमबाट क्याच हुनुअघि उनले ३६ बलमा ३ छक्का प्रहार गरे।

    त्यसअघि तेस्रो ओभरमा सागर ढकालले वेस्ट इन्डिजका दुवै ओपनरलाई पेभिलियनको बाटो देखाए। सागरले दोस्रो बलमा उपकप्तान एलिक एथानाजलाई ६ रनमा कुशल मल्लबाट क्याच गराए। पाँचौ बलमा जोनसन चार्ल्स ११ रनमा बोल्ड गरे। चार ओभरमा सागरले १९ रन खर्चिए।

    दशौं ओभरको अन्तिम बलमा नेपालले तेस्रो विकेटको रुपमा कप्तान रोस्टन चेजलाई २३ रनमा आउट गर्‍यो। कुशल भुर्तेलले उनलाई बोल्ड गरे। त्यतिबेला वेस्ट इन्डिजले १० ओभरमा ६४ रन मात्र जोडेको थियो। व्यक्तिगत दोस्रो विकेट लिने क्रममा भुर्तेलले केसी कार्टीलाई १० रनमा आउट गरेका थिए।

    सागर र कुशलले उत्कृष्ट स्पिन बलिङ गरेपछि सुरुवातमा वेस्ट इन्डिजका ब्याटर चल्न सकेनन्।

    १७औं ओभरमा किमो पल सोमपाल कामीको बलमा बोल्ड हुन पुगे। उनले ८ रन मात्र जोड्न सके। १८औं ओभरमा हेडन वाल्सलाई रोहित पौडेलले ९ रनमा रनआउटको सिकार बनाए।

    १९औं ओभरमा वेस्ट इन्डिजका ब्याटर आकास चन्दलाई १९ रन प्रहार गरे।

    अन्तिम ओभरमा दीपेन्द्रसिंह ऐरीविरुद्ध वेस्ट इन्डिजले २२ रन प्रहार गर्‍यो। जसमा गुणाकेश मोतीले ८ बलमा २ चौका र ४ छक्काको मद्दतमा नटआउट ३३ रन र म्याथ्यु फोर्डले ६ बलमा नटआउट ११ रन जोडे।

    बलिङमा नेपालका सागर ढकाल र कुशल भुर्तेलले २-२ विकेट लिए। सोमापल कामी र दीपेन्द्रसिंह ऐरीले १-१ विकेट हात पारे।

    अब तेस्रो खेल बुधबार हुनेछ।