तनहुँ कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँ कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी

    खबरपुञ्ज संवाददाता

    २६ बैशाख २०८१, बिहीबार

    दमाैली । तनहुँ कारागारमा तीन सय २३ कैदीबन्दी छन् । दैनिक रुपमा कैदीबन्दी थपिने क्रम बढेसँगै व्यवस्थापनमा समस्या भएको कारागार प्रशासनले जनाएको छ ।

    कारागारका प्रमुख नारायणप्रसाद अधिकारीका अनुसार हाल एक सय ६८ कैदी र एक सय ५५ थुनुवा गरी तीन सय २३ जना कारागारमा छन् । त्यसमध्ये २४ जना महिला छन् । क्षमताभन्दा कैदीबन्दी व्यवस्थापन गर्नुपर्दा समस्या हुने गरेको अधिकारीले जानकारी दिए।

    कारागारमा महिलातर्फ २० र पुरुषतर्फ एक सय १४ जनाको क्षमता रहेपनि क्षमताभन्दा बढी कैदीबन्दी व्यवस्थापन गर्नुपरेको उनकाे भनाइ छ ।

    तनहुँ कारागारमा कर्तव्य ज्यान, लागुऔषध, जबरजस्ती करणी मुद्धाका कैदीबन्दी बढी रहेका छन् । तनहुँ कारागारमा तीन वटा ब्लक भवनमा कैदीबन्दीको व्यवस्थापन गरिएको अधिकारीले जानकारी दिए।

    ए ब्लकमा ६८ कैदी र ६३ थुनुवा गरी एक सय ३१, बि ब्लकमा ८५ कैदी र ८३ थुनुवा गरी एक सय ६८ र सि ब्लकमा २४ कैदीबन्दी रहेका छन् । यसअघि तनहुँ कारागारमा महिला बन्दीगृह नरहेकामा दुई वर्ष अगाडी महिला बन्दीगृह निर्माण गरी महिला कैदीबन्दीको व्यवस्थापन गरिएको अधिकारीले जानकारी दिए । त्यसअगाडी यहाँ महिला बन्दीगृह नहुँदा पोखरा पठाउनुपर्ने बाध्यता थियो ।

    तनहुँ कारागारमा कर्तव्य ज्यानका ४८, ज्यान मार्ने उद्योगका दश, सवारी ज्यानका २३, चोरीका ३२, बहुविवाहका पाँच, लागुऔषधका ६९, डाकाचोरीका १३, ठगीका तीन, मानव बेचविखनका चार, जबरजस्ती करणीका ९०, जबरजस्ती करणी उद्योगका सात, अपहरणका तीन, भ्रष्टाचारका एक, हातहतियार खरखजानाका चार र अन्य नखुलेका ११ कैदीबन्दी छन् ।