दमाैली । तनहुँको दमौलीस्थित बुल्दीखोलामा शनिबार आयोजित वृहत सरसफाइ अभियानमा नेपाली सेनाको टोलीले धेरै फोहर सङ्कलन गरेको छ । युवा अभियान्ता सुदीप गफ्फारको सक्रियतामा सञ्चालित सरसफाइ अभियानमा धेरै फोहर सङ्कलन गरेर व्यास नगरपालिका–५ चापाघाटस्थित कालीभञ्जन गण (इ) ले नगद पुरस्कार प्राप्त गरेको छ ।
व्यास नगरपालिका–१ करङकाठदेखि व्यास नगरपालिका–३ सेतीबुल्दी दोभानसम्म भएको सरसफाइ अभियानमा सेनाले एक हजार २४ किलो फोहर सङ्कलन गरेको छ । त्यस्तै व्यास नगरपालिका–२ स्थित पुलजीप टोल विकास संस्थाले ९४०.७ किलो फोहर सङ्कलन गरी दोस्रो स्थान हासिल गरेको छ ।
प्रथम भएको समूहलाई नगद रु दश हजार र प्रमाणपत्र तथा दोस्रो भएको समूहलाई नगद रु पाँच हजार र प्रमाणपत्र प्रदान गरिएको छ ।
विद्यालयस्तरीय बालबालिकाबीच भएको उक्त प्रतिस्पर्धामा न्यू मनकामना बोर्डिङ स्कूल प्रथम र कन्काइ ग्लोबल एकेडेमी दोस्रो भएको छ । मनकामनाका विद्यार्थी समूहले ६४५.९ र कन्काइका विद्यार्थी समूहले ५१६.९ किलो फोहर सङ्कलन गरेका थिए । उनीहरुलाई क्रमशः रु चार हजार र रु दुई हजार नगद प्रदान गरिएको छ । त्यसक्रममा कूल ५४ समूहको सहभागिता रहेको थियो ।
बुल्दीखोला दिनप्रतिदिन प्रदूषित बन्दै गएकाले सरसफाइ अभियान सञ्चालन गरिएको युवा अभियान्ता गफ्फारले जानकारी दिए । खोला सरसफाइसँगै प्रतियोगिात्मक रुपमा सञ्चालन गरिएको यस अभियानले सरसफाइ गर्नुपर्छ भन्ने सन्देश दिन खोजिएको उनकाे भनाइ छ ।
वृहत सरसफाई अभियानका लागि टोल, विद्यालय, क्याम्पस, सङ्घसंस्था लगायतबाट साथ र सहयोग पाएको बताए । बुल्दीखोला दिनप्रतिदिन प्रदूषित बन्दै गएकाले खोला स्वच्छ र सफा राख्ने उद्धेश्यसहित वृहत सरसफाई अभियान सञ्चालन गरिएको उनले बताए। उनले भने “भावी पुस्ताका लागि खोला संरक्षण गर्नुपर्ने अवस्था आएको छ । खोलाको अवस्था देखेर सरसफाई अभियान सञ्चालन गर्ने जमर्को गरेको हूँ ।”
उनकै नेतृत्वमा आगामी जेठ ५ गते भानु र बन्दीपुरको सीमानास्थित चुँदीखोलामा वृहत सरसफाइ अभियान सञ्चालन हुँदैछ ।
व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले एउटा युवाको सक्रियतामा बुल्दीखोला वृहत सरसफाई अभियान हुनु खुसीको कुरा भएको बताए ।
व्यास नगरपालिकाका पूर्व प्रवक्ता मोहनकुमार श्रेष्ठले समाज बदल्न पहिला आफू बदलिन पर्ने बताउँदै त्यसको नेतृत्व एउटा युवाले गरेकामा खुसी व्यक्त गरे ।