दमौली । तनहुँको व्यास नगरपालिकाले प्लाष्टिक झोला प्रयोग गर्नेलाई जरिवाना गर्ने भएको छ । नगरपालिकाले आज जेठ १ गतेदेखि नगरभित्र प्लाष्टिक झोला प्रयोगमा निषेध गरेकाले झोला प्रयोग गरेको पाइए जरिवाना गर्ने निर्णय गरेको हो ।
त्यस्तै प्लाष्टिक झोला प्रयोग गरेको सूचना दिनेलाई पुरस्कार दिने व्यवस्था गरिएको नगरपालिकाका वन तथा वातावरण समितिका संयोजक रनसिं नेपालीले जानकारी दिए । प्लाष्टिक झोलाले वातावरण प्रदूषित गरेकाले वातावरणमैत्री नगर बनाउने उद्धेश्यसहित कार्यविधि पारित गरी प्लाष्टिक झोला निषेध गरिएको उनको भनाइ छ ।
नगरपालिकाले प्लाष्टिक झोला प्रयोगकर्ता, विक्रेता र उत्पादकलाई फरक फरक जरिवाना तोकेको छ । प्लाष्टिक झोला उत्पादकलाई पहिलो पटक रु दुई हजार, दोस्रो पटक रु चार हजार र तेस्रो पटक रु छ हजार जरिवाना गरिने नेपालीले जानकारी दिए ।
त्यस्तै विक्रेतालाई पहिलो पटक रु पाँच सय, दोस्रो पटक रु एक हजार र तेस्रो पटक रु तीन हजार जरिवाना तोकिएको छ । प्रयोगकर्तालाई भने पहिलो पटक रु दश, दोस्रो पटक रु पचास जरिवाना तोकिएको छ ।
नेपालीले भने, “प्लाष्टिक झोला प्रयोग गर्नेको सूचना दिनेलाई जरिवानाको ५० प्रतिशत पुरस्कार प्रदान गरिनेछ ।”
नगरपालिकाले बजार क्षेत्रभित्र प्लाष्टिक झोला प्रयोग नगर्न आग्रह गर्दै सचेतनामूलक कार्यक्रम गरिसकेको छ । नगरको वातावरण स्वच्छ बनाउन यो निर्णय गरिएको नगरप्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए । नगरवासीहरुले सामान खरिद गर्दा कपडा, फाइवर, जुट र कागजको झोलामात्र प्रयोग गर्न न्यौपानेले आग्रह गरे ।
व्यापारीले प्लाष्टिक झोलाको सट्टा वैकल्पिक झोलाहरु मात्र विक्री वितरण गरी प्लाष्टिक झोलामुक्त व्यास नगर बनाउने अभियानलाई सफल बनाउन न्यौपानेले आग्रह गरे ।