दमाैली । तनहुँको व्यास नगरपालिकामा पुनः मतगणना गर्न उच्च अदालत पोखराले आदेश दिएको छ । व्यास नगरपालिकाका प्रमुखका उम्मेदवार दीपकराज जोशीले दायर गरेकाे रिटमा मङ्गलबार अन्तिम सुनुवाई गर्दै अदालतले निवेदकको दावी पुग्ने फैसला गरेको छ ।
उच्च अदालतका न्यायाधीश राजनप्रसाद भट्टराई र निर्मला पौडेल भट्टराईको संयुक्त इजलासले रिट निवेदक जोशीको पक्षमा फैसला सुनाएको उच्च अदालतका सूचना अधिकारी विश्वनाथ अर्यालले जानकारी दिए।
मतगणनामा धाँधली भएको भन्दै जोशीले विसं २०७९ जेठ १२ गते निर्वाचन आयोग समेत पाँच जनालाई विपक्षी बनाई रिट दर्ता गरेका थिए । जोशीका पक्षमा आज पाँच जना अधिवक्ताले बहस गरेका थिए ।
स्थानीय तहको निर्वाचन अन्तर्गत व्यास नगरपालिकाको प्रमुख वैकुण्ठ न्यौपाने १२ हजार ७८ मत प्राप्त गरी विजयी भएका थिए । प्रतिस्पर्धी उम्मेदवार जोशस्ले ११ हजार आठ सय २६ मत प्राप्त गरेका थिए । एमालेको सहयोगमा नगरको मेयरको उम्मेदवार बनेका जोशी कांग्रेसका न्यौपानेसँग २५२ मतान्तरले पराजित भएका थिए।