एक घर : दश कफीको बिरुवा रोपण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    एक घर : दश कफीको बिरुवा रोपण

    खबरपुञ्ज संवाददाता

    २१ जेष्ठ २०८१, मंगलवार

    दमाैली । तनहुँको शुक्लागण्डकी नगरपालिका–१० ले एक घर ः दश कफीको बिरुवा रोप्ने अभियान सञ्चालन गर्न लागेको छ । आगामी आर्थिक बर्ष २०८१÷८२ को नीति तथा कार्यक्रम तर्जुमा गर्दै वडाले व्यावसायिक कफी उत्पादनलाई अभियानकै रुपमा अगाडि बढाउन लागेको हो ।

    एक हजार एक सय ५५ घरधुरी रहेको यस वडामा यस आर्थिक वर्षमा मात्रै १० हजार कफीको बिरुवा वितरण गर्न लागिएको हो । युवासँग उपप्रमुख कार्यक्रम अन्तर्गत व्यावसायिक खेती उत्पादन कार्यक्रमबाट यस वडालाई कफीको पकेट वडाको रुपमा विकास गर्न लागिएको वडाध्यक्ष राजेन्द्र भट्टराई क्षेत्रीले जानकारी दिए ।

    स्थानीय बजारदेखि अन्तर्राष्ट्रिय बजारसम्म नेपाली कफीको अत्याधिक माग भएको र बाँदर लगायत वन्यजन्तुबाट कम क्षति हुने नगदे बाली भएको हुँदा स्थानीय किसानहरु व्यावसायिक रुपमा कफी खेती गर्न इच्छुक देखिएको उनकाे भनाइ छ । उनका अनुसार कफीको बिरुवा पचास प्रतिशत अनुदानमा किसानलाइ उपलब्ध गरिनेछ । किसानलाई प्रविधि विस्तार र बजारीकरणको जिम्मा कृष्मी बहुउद्धेश्यीय सहकारी संस्थासँग समन्वय गरिने उहाँले बताए ।

    शुक्लागण्डकी नगरपालिकाको युवासँग उपप्रमुख कार्यक्रम र कृष्मी बहुउद्धेश्यीय सहकारी संस्थाको सहकार्यमा यस अघि व्यावसायिक अदुवा खेती अभियान समेत सञ्चालन गरिएको थियो । बढ्दो बसाइँसराइले गाउँ खाली हुँदै गएको, उर्वर खेतीयोग्य जमिन बाँझो हुँदै गएको अवस्थामा कफी खेतीबाट बाँझो जमिनको सदुपयोग हुनका साथै किसानको आयआर्जनमा समेत टेवा पुग्ने विश्वास गरिएको छ ।