उड्दै नउडेको जहाज हराएको अफवाह फैलिएपछि…
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    उड्दै नउडेको जहाज हराएको अफवाह फैलिएपछि…

    खबरपुञ्ज संवाददाता

    १७ असार २०८१, सोमबार

    काठमाडौँ । सोमबार दिउँसो एकाएक तारा एयरको जहाज सम्पर्कविहीन भन्ने हल्ला मच्चिएपछि हवाई उड्डयन क्षेत्रमा तरङ्गित बन्न पुगेको छ । पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज सम्पर्कविहीन भन्ने समाचार तथा सूचनाहरू सामाजिक सञ्जालमा फिँजिएपछि यसले तरङ्ग ल्याएको हो । तर, वास्तविकता सोमबार कुनै जहाज हराएको छैन । 

    तारा एयरसँग हाल तीन वटा जहाज रहेका छन् । दुई वटा जहाज काठमाडौँमा नै रहेको जनाएको कम्पनीले सोमबार एउटा जहाजले नेपालगन्ज–सिमिकोट उडान भरेको जानकारी दिएको छ । दिउँसो १ः २७ बजे नेपालगन्ज अवतरण (ल्यान्ड) गरेको जहाज अहिले सोही विमानस्थलमा पार्किङमा छ । 

    यता काठमाडौँमा रहेका दुईवटा जहाजमध्ये एउटा ग्राउण्डेड रहेको छ भने अर्को लुक्लाका लागि उडान तालिका रहेकोमा खराब मौसमका कारण उड्न नसकेर त्रिभुवन विमानस्थलमा नै पार्किङमा रहेको छ । तर, कम्पनीलाई जोडेर पोखराबाट जोमसोमका लागि उडेको जहाज सम्पर्कविहीन भएको भन्ने हल्ला एकाएक फैलिएपछि कम्पनी तनावमा परेको छ । 

    यसबारेमा रातोपाटीसँग कुरा गर्दै तारा एयरका सुदर्शन बर्तौलाले सामाजिक सञ्जालमा फैलिएको अफवाहबाट आफूहरू आश्चर्यचकित र तनावमा परेको बताएका छन् । तारा एयरको कुनै पनि जहाज नउडेको र नहराएको जानकारी दिँदै उनले कम्पनीबारे फैलाइएको अफवाहप्रति सचेत हुन सबैलाई आग्रह गरेका छन् । (रातोपाटीबाट)