वर्षाका कारण तनहुँमा कहाँ कहाँ क्षति भयाे ? (विस्तृतमा)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • समाचार

    वर्षाका कारण तनहुँमा कहाँ कहाँ क्षति भयाे ? (विस्तृतमा)

    खबरपुञ्ज संवाददाता

    २२ असार २०८१, शनिबार

    दमाैली । शुक्रबार र शनिबार परेको वर्षाका कारण तनहुँका विभिन्न ठाउँमा क्षति पुगेको छ । वर्षापछि आएको बाढी पहिराले मानवीय क्षति, सडक, घरगोठ क्षति पुगेको छ भने कतिपय घर डुबानमा परेको छ ।

    पहिराका कारण शुक्लागण्डकी नगरपालिका–७ काउरेमा तीन जना बेपत्ता भएकामा एक जनाको शव फेला परेको छ भने दुई जना अझै बेपत्ता छन् । त्यस्तै ऋषिङ गाउँपालिका–१ झापुटारमा ढुङ्गाले लागेर एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

    भिमाद नगरपालिका–५ मालेबगरमा बाढीको डुबानले घरमा थुनिएका तीन जनाको उद्धार गरिएको छ । अविरल वर्षाका कारण सिग्दीखोलामा आएको बाढीले स्थानीय दीपक तामाङको घर डुबानमा परेपछि प्रहरी र नेपाली सेनाको सहयोगमा तीन जनाको उद्धार गरिएको हो ।

    बाढीका कारण दुवैतर्फबाट खोलाले घेरेपछि घरमै थुनिएका निज तामाङ, श्रीमती र छोरी गरी तीन जनाको नेपाली सेनार नेपाल प्रहरीको संयुक्त टोलीले शकुसल उद्धार गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक दीपक रायले जानकारी दिए ।

    यसैगरी प्रहरीले व्यास नगरपालिका–१३ बेलबासमा सेती नदीको पानी पसेर घर डुबानका परेका स्थानीयको उद्धार र सामग्री सुरक्षित स्थानमा सारेको छ । बेलबासस्थित हरिमाया पौडेलको घर, न्यु भिजन बोर्डिङ स्कूल र सिद्धबेनी माविमा बाढी पसेपछि प्रहरीले ती घर तथा विद्यालयको सामग्री सुरक्षित स्थानमा सारेको हो ।

    May be an image of 2 people

    बन्दीपुर गाउँपालिका–५ कोरिखामा नारायणबहादुर गुरुङको घर भत्किँदा घरसँगै जोडिएको बाख्राको खोर पुरिएर सातवटा बाख्रामध्ये तीन वटा बाख्रा मरेको प्रहरीले जनाएको छ । चार वटा बाख्राको शकुसल उद्धार भएको र अन्य मानवीय क्षति नभएको प्रहरीको भनाइ छ ।

    व्यास नगरपालिका–१२ मालेपहरामा भौमाया नेपालीको गोठमाथिबाट आएको पहिराले गोठ पूर्ण रुपमा क्षति भएको छ । तर चौपाया र मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

    भिमाद नगरपालिका–३ जलौदीमा पहिराले २७ वर्षीया यमुना विकको ब्लक र सिमेन्टले बनेको घर पुरिँदा घर पूर्ण रुपमा क्षति भएको प्रहरीले जनाएको छ । साथै दश वटा कुखुरा मरेका छन् भने भाडावर्तन, लत्ताकपडा पुरिएका छन् ।

    वर्षाका कारण शुक्लागण्डकी नगरपालिका–७ शेरामा कल्भर्ट फेदीखोलाले बगाउँदा पृथ्वीराजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ ।