कोपा अमेरिका : क्यानडा साविक विजेता अर्जेन्टिनासँग भिड्दै
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    कोपा अमेरिका : क्यानडा साविक विजेता अर्जेन्टिनासँग भिड्दै

    खबरपुञ्ज संवाददाता

    २५ असार २०८१, मंगलवार

    काठमाडौं । साविक विजेतासमेत रहेको अर्जेन्टिनाविरुद्ध कोपा अमेरिका–२०२४ को पहिलो सेमिफाइनलमा मैदान उत्रिँदा क्यानडा ‘जायन्ट किलर’ को छवि बनाउने लक्ष्यमा हुनेछ ।सन् २०२२ को फिफा विश्वकप च्याम्पियन अर्जेन्टिना प्रतियोगिताको साविक विजेतासमेत हो । क्यानडा भने पहिलोपटक कोपा अमेरिका–२०२४ खेलिरहेको हो । फिफा वरीयतामा पनि अर्जेन्टिना शीर्ष स्थानमा छ । क्यानडा भने वरीयताको ४८औँ स्थानमा छ ।

    उनीहरूले पछिल्लो पाँच वर्षको अवधिमा दुई पटकमात्र हार बेहोरेका छन्,” क्यानडाका मुख्य प्रशिक्षक जेसी मार्सले भने, “लियोनल मेसी यो खेल खेल्ने सबैभन्दा उत्कृष्ट खेलाडी हुन् । तर, हामीसँग पनि मौका छ भन्नेमा विश्वस्त छौँ । हामीले त्यसैअनुरुपको तयारी गरिरहेका छौँ ।”प्रतियोगिताको उद्घाटन खेलमा क्यानडा अर्जेन्टिनासँगै २–० ले पराजित भएको थियो ।

    तर, समूहबाट उपविजेता बन्दै क्वार्टरफाइनल यात्रा तय गरेको क्यानडाले अन्तिम–१६ को खेलमा भेनेजुयलालाई पेनाल्टी सुटआउटमा हराउँदै सेमिफाइनलमा स्थान बनाएको हो । “उनीहरूविरुद्ध खेलिसकेकाले पनि अर्जेन्टिना कति राम्रो टिम हो भन्ने हामीलाई थाहा छ । तर, खेलका निश्चित समयमा हामी पनि योजनामा सफल बनेका थियौँ,” मार्सले भने ।

    मांसपेसीमा असहजता महसुस गरेता पनि मेसीले क्वार्टरफाइनलमा इक्वेडरविरुद्ध ९० मिनेट नै मैदानमा बिताएका थिए । सेमिफाइनलअघि अर्जेन्टिनाका मुख्य प्रशिक्षक लियोनल स्कालोनीले पनि मेसी तयार रहेका प्रतिक्रिया दिए । “उसले राम्रो गरिरहेको छ र सेमिफाइनल खेलको हिस्सा बन्नेछ । यो कुराको निर्णय अधिकार मसँग छ । मैले राम्रो स्थितिमा देखे भने, शतप्रतिशत ठिक नभए पनि उसले सेमिफाइनल खेल्नेछ । मेसी आफ्नो उत्कृष्ट लयमा नभए पनि उसले टिमलाई धेरै कुराहरू दिन सक्छन्,” स्कालोनीले भने ।

    अमेरिकाको मेटलाईफ रंगशालामा हुने यो खेल नेपाली समयअनुसार बुधबार बिहान ५ः४५ बजेदेखि सुरु हुनेछ । यी दुई टिमबीचको विजेताले आइतबार कोपा अमेरिकाको फाइनलमा उरुग्वे र कोलम्बियामध्ये एक टिमविरुद्ध खेल्नेछ ।