म्याग्दे गाउँपालिकाद्वारा दूधमा २८ लाख अनुदान, अनुदानले बढायो दूध उत्पादन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    म्याग्दे गाउँपालिकाद्वारा दूधमा २८ लाख अनुदान, अनुदानले बढायो दूध उत्पादन

    खबरपुञ्ज संवाददाता

    ३२ असार २०८१, मंगलवार

    दमौली । तनहुँको म्याग्दे गाउँपालिकाले दूध उत्पादक किसानलाई उत्पादनमा अनुदान उपलब्ध गराएको छ । उत्पादनका आधारमा दूधमा अनुदान दिने नीतिले गाउँपालिकामा दूग्ध उत्पादक किसान बढ्नुका साथै दूध उत्पादनमा वृद्धि भएको छ ।

    गाउँपालिकाले चालु आर्थिक वर्षमा यहाँका किसानलाई रु २८ लाख ८८ हजार दुई सय आठ वितरण गरेको पशुसेवा शाखा प्रमुख डा विनय शाहले जानकारी दिए । उनका अनुसार प्रति लिटर रु दशका दरले अनुदान उपलब्ध गराइएको छ । तीन वटा सहकारी संस्थामार्फत् दूध बिक्री गर्ने किसानले अनुदान पाएका छन् ।

    चालु आर्थिक वर्षमा तीन वटा सहकारी संस्थामार्फत् दुई लाख ८८ हजार आठ सय २० लिटर दूध बिक्री भएको छ । म्याग्दे गाउँपालिका–४ स्थित म्यादे दुग्ध उत्पादक सहकारी संस्थाबाट दुई लाख ३७ हजार नौ सय ४७, गौ सेवा दुग्ध उत्पादक सहकारी संस्थाबाट ३४ हजार सात नौ र साँगे चारहजार दूध उत्पादक सहकारी संस्थाबाट १६ हजार एक सय ६४ लिटर दूध उत्पादन भएको छ ।

    त्यसमध्ये म्याग्दे दुग्ध सहकारीलाई रु २३ लाख ७९ हजार चार सय ७७, गौ सेवा दुग्ध सहकारीलाई रु तीन लाख ४७ हजार ११ र साँगे चारहजार दुग्ध सहकारीलाई रु एक लाख ६१ हजार छ सय ४० अनुदान उपलब्ध गराइएको शाहले बताए । गाउँपालिकाले गत जेठ २० गते तीन वटा सहकारीलाई बिक्री भएको दूधको अभिलेख, भुक्तानी बिलको प्रमाणित प्रतिलिपिसहित उक्त किसानले बिक्री वितरण गरेको एकमुष्ट विवरण माग गरेको थियो ।

    गत आर्थिक वर्षमा गाउँपालिकाले किसानलाई रु १४ लाख ९८ हजार पाँच सय ८२ अनुदान वितरण गरेको थियो । त्यसबेला एक लाख ६२ हजार आठ सय ८९ लिटर दूध उत्पादन भएको थियो । म्याग्दे दुग्ध उत्पादक सहकारी संस्थामार्फत् दूध बिक्री गर्ने किसानलाई रु ११ लाख २१ हजार एक सय ८५, गौसेवा दुग्ध उत्पादक सहकारीमार्फत् दूध बिक्री गर्ने किसानलाई रु दुई लाख १२ हजार दुई सय ३२ र साँगे चारहजार दुग्ध उत्पादक सहकारीमार्फत् दूध बिक्री गर्ने किसानलाई रु एक लाख ६५ हजार एक सय ६३ रकम वितरण गरिएको थियो ।