देवघाटधाममा बोलबम मेलाको तयारी पूरा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    देवघाटधाममा बोलबम मेलाको तयारी पूरा

    खबरपुञ्ज संवाददाता

    ६ श्रावण २०८१, सोमबार

    दमौली । तनहुँको प्रसिद्ध तीर्थस्थल देवघाटधाममा आजदेखि सुरु हुने बोलबम मेलाको तयारी पूरा भएको छ । साउनको प्रत्येक सोमबार लाग्ने बोलबम मेलालाई भव्य र सभ्य बनाउन आवश्यक तयारी पूरा भएको देवघाट क्षेत्र विकास समितिले जनाएको छ ।

    साउनको प्रत्येक सोमबार देवघाटधाममा बोलबम मेला भर्न हजारौ भक्तजनको भीड रहने गर्दछ । मेलालाई व्यवस्थित बनाउन समितिले आवश्यक तयारी थालेको कार्यकारी निर्देशक सदन बरालले जानकारी दिए ।

    बोलबम मेलालाई भव्य र व्यवस्थित बनाउन वृहत सरसफाई गरिएको छ । उक्त कार्यक्रममा देवघाटस्थित सङ्घसंस्था, आमा समूह, व्यक्तिहरुको सहभागिता रहेको थियो ।

    मेलामा आउने भक्तजनको यातायात पार्किङको व्यवस्थापन वडा नम्बर ५ लाई, सुरक्षा व्यवस्थापन इलाका प्रहरी कार्यालय देवघाटलाई जिम्मा दिइएको कार्यकारी निर्देशक बरालले जानकारी दिए । गलेश्वर नजिक गएको पहिराका कारण आवतजावत बन्द रहेकाले त्यसको विकल्पमा पैदलमार्ग व्यवस्थापन गर्न गलेश्वर आश्रमलाई जिम्मा दिने निर्णय भएको छ ।

    यस वर्ष साउन महिनामा चार वटा सोमबार परेको हुँदा उक्त चारै दिन ५० हजारभन्दा बढी भक्तजन मेला भर्न आउने अपेक्षा गरिएको छ । गत वर्ष मलमास परेका कारण बोलवम मेला नभएकाले यसवर्षको बोलवम मेलामा भक्तजनको सङ्ख्या बढ्ने अपेक्षा गरिएको जनाइएको छ ।

    देवघाटमा हरेक वर्ष साउन महिनाको सोमबार बोलबम मेला लाग्ने गर्छ । साउन महिनामा देवघाटमा श्रावणी बोलबम मेला एउटा विशेष उत्सवको रुपमा मनाउने परम्पराको विकास हुँदै आएको छ । मुक्तिनाथबाट बगेर आएको कालीगण्डकी र गोसाइँकुण्डबाट बगेर आएको त्रिशुलीको सङ्गम वेणीमा बोलबमको अवसरमा स्नान गर्नाले भगवान शिव खुशी हुने र चर्मरोगहरु निको हुने जनविश्वास रहँदै आएको देवघाट क्षेत्र विकास समितिका पूर्वअध्यक्ष शिवराज पौडेलले बताए ।