काउरेमा पहिराबाट मृत्यु भएका व्यक्तिका परिवारलाई सङ्घ सरकारको रु छ लाख राहत
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    काउरेमा पहिराबाट मृत्यु भएका व्यक्तिका परिवारलाई सङ्घ सरकारको रु छ लाख राहत

    खबरपुञ्ज संवाददाता

    १७ श्रावण २०८१, शुक्रबार

    दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–७ काउरेमा गत असार २२ गतेको पहिराबाट पुरिएर मृत्यु भएका व्यक्तिका परिवारलाई सङ्घ सरकारको तर्फबाट रु छ लाख राहत प्रदान गरिएको छ ।

    पहिराले पुरिएर मृत्यु भएका यहाँका तीन जनाको परिवारलाई सङ्घ सरकारको तर्फबाट जनही रु दुई लाखका दरले रु छ लाख प्रदान गरिएको हो ।

    विपद्बाट मृत्यु हुनेका परिवारलाई रु दुई लाख दिने प्रावधान बमोजिम मृतकका परिवारको खातामा राहत रकम पठाइएको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिए ।

    त्यस्तै गण्डकी प्रदेश सरकारका तर्फबाट मृतकका परिवारलाई जनही रु ५० हजारका दरले राहत वितरण गरिने प्रमुख जिल्ला अधिकारी गौतमले बताए ।

    पीडित परिवारलाई शुक्लागण्डकी नगरपालिकाले समेत राहत प्रदान गरेको छ । नगरपालिकाले बिहीबार प्रति मृतक जनही रु ५० हजारका दरले राहत सहयोग गरेको छ । नगरप्रमुख कृष्णराज पण्डितले मानिसको जीवनभन्दा ठूलो कुरा पैसा नभएपनि पीडामा मलम लगाउन स्थानीय सरकारको तर्फबाट थोरै भएपनि सहयोग गरिएको बताए ।

    लायन्स क्लव इन्टरनेशनल डिष्ट्रिक ३२५ बि १ ले मृतकका परिवारलाई जनही रु २५ हजारका दरले आर्थिक सहयोग हस्तान्तरण गरिसकेको छ । यसैगरी नेकपा (माओवादी) केन्द्र शुक्लागण्डकी नगर कमिटीले मृतकका परिवारलाई जनही रु पाँच हजारका दरले आर्थिक सहयोग गरेको छ ।

    पहिराले घर पुरिदा मृत्यु भएका ४० वर्षीया हिरा नेपाली, ६५ वर्षीय श्याम भण्डारी र ३७ वर्षीया अनिषा बास्तोलाको मृत्यु भएको थियो । स्थानीय हिरा नेपाली र सुनमाया कुमालको घरमाथिबाट पहिरा आउँदै गर्दा घरभित्र रहेको सामान स्थानीयले मिलेर निकाल्ने क्रममा पहिरामा पुरिएर तीन जना बेपत्ता भएका थिए । त्यसमध्ये एक जनाको शव सोही दिन र दुई जनाको शव भोलिपल्ट फेला परेको थियो ।