स्वास्थ्यमन्त्री पौडेलद्वारा आँबुखैरेनी अस्पतालको शल्यक्रिया कक्ष उद्घाटन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    स्वास्थ्यमन्त्री पौडेलद्वारा आँबुखैरेनी अस्पतालको शल्यक्रिया कक्ष उद्घाटन

    खबरपुञ्ज संवाददाता

    २० श्रावण २०८१, सोमबार

    दमाैली । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले तनहुँको आँबुखैरेनी अस्पतालको शल्यक्रिया कक्षको आइतबार उद्घाटन गरेका छन् । तनहुँको आँबुखैरेनी गाउँपालिकाले सञ्चालन गरेको अस्पतालमा गण्डकी प्रदेश सरकारको सहयोगमा तयार भएको शल्यक्रिया कक्षको मन्त्री पौडेलले उद्घाटन गरेका हुन् ।

    सो अवसरमा मन्त्री पौडेलले अस्पतालको स्तरोन्नति र थप विकासका लागि सङ्घीय सरकारको सहयोग रहने प्रतिबद्धता जनाए।

    दुई वर्ष अगाडी स्वास्थ्यचौकीबाट स्तरोन्नति भएको अस्पतालले अब छिट्टै शल्यक्रिया सेवा दिने तयारी गरेको छ । अस्पतालका प्रमुख डा. डिबी क्षेत्रीका अनुसार गण्डकी प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको सहयोगमा शल्यक्रिया कक्षका लागि आवश्यक लाइट, शय्या र इलेक्ट्रोकाउट्री मेसिन प्राप्त भएको थियो ।

    लामो समयको प्रयासपश्चात् अस्पतालमा अब शल्यक्रिया सेवा सुरु हुने चरणमा पुगेको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताए।

    गाउँपालिकाले विसं २०७९ मङ्सिर १ गतेदेखि आँबुखैरेनी स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी पन्ध्र शय्याको अस्पताल सञ्चालन गरेको छ । अस्पतालले तनहुँको आँबुखैरेनीका अलवा जिल्लाकै बन्दीपुर, गोरखाको पालुङटार, सहिद लखन र चितवनको इच्छाकामनाका जनतालाई सेवा दिइरहेको छ । अस्पतालबाट चौबिसै घण्टा आकस्मिक सेवा, आधारभूत प्रयोगशाला, एक्सरे, भिडियो एक्सरे, इसिजी, फार्मेसी लगायतका सेवा प्रदान गरिएको छ । अस्पतालमा एक जना एमडिजीपी, तीन जना मेडिकल अधिकृत र १३ नर्स कार्यरत छन् ।