च्यवनधाममा बोलबम धार्मिक महोत्सव सुरु, मन्त्री पौडेलले भने – धर्मले मानिसलाई मानसिक रुपमा स्वस्थ बनाउँछ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    च्यवनधाममा बोलबम धार्मिक महोत्सव सुरु, मन्त्री पौडेलले भने – धर्मले मानिसलाई मानसिक रुपमा स्वस्थ बनाउँछ

    खबरपुञ्ज संवाददाता

    २० श्रावण २०८१, सोमबार

    दमौली । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले धर्मले मानिसलाई मानसिक रुपमा स्वस्थ बनाउने बताएका छन् । तनहुँको शुक्लागण्डकी नगरपालिका–२ गाछेपानीस्थित मुक्तिनाथ च्यवनधाममा सोमबारदेखि सुरु भएको शिव महिमा बोलबम धार्मिक महोत्सवको आज उद्घाटन गर्दै मन्त्री पौडेलले मानसिक रुपमा स्वस्थ हुन हरेक मानिस धार्मिक हुनुपर्ने उल्लेख गरे ।

    मन्त्री पौडेलले भने, “मानिसलाई दुई किसिमको रोग लाग्छ । एउटा शारीरिक र अर्को मानसिक । आज शारीरिकभन्दा मानसिक रोगबाट मानिस बढी ग्रस्त छन् । मानसिक रोगको खासै उपचार छैन । एलोपेथिक औषधिले त्यसलाई सजिलै निको बनाउन सक्दैन ।” धर्म स्वास्थ्यसँग प्रत्यक्ष जोडिएकाले धर्मले मानिस स्वस्थ बन्न सक्ने उनको जिकिर थियो ।

    उनले भने, “धार्मिक व्यवहार स्वास्थ्यसँग जोडिएका छन् । धार्मिक मान्छे मानसिक रुपमा स्वस्थ हुन्छ । मानसिक रुपमा स्वस्थ भएको मानिस सुखी हुन्छ ।”

    मुक्तिनाथ च्वयनधामले धर्म संस्कृतिको संरक्षण मात्र होइन यस ठाउँलाई धार्मिक पर्यटकीय गन्तव्यस्थल बनाउन सहयोग पुगेको मन्त्री पौडेलको भनाइ थियो । उनले हरेक धर्म संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिए । मन्त्री पौडेलले नेपालको स्वास्थ्य क्षेत्रलाई सुधार गर्न आवश्यक रहेको बकाए । स्वास्थ्य क्षेत्र पद्धतिबाट नचलेको बताउँदै उहाँले स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन गरिने बताए ।

    नेपालमा पर्याप्त अस्पताल भएपनि राम्रोसँग सेवा प्रवाह हुन नसकेकाले अस्पतालको सेवा सुविधा गुणस्तरीय बनाउनेतर्फ सरकारको ध्यान रहने बताए ।

    संविधानसभा सदस्य आशा कोइरालाले यस क्षेत्रलाई धार्मिक पर्यटकीयस्थल बनाउन आवश्यक रहेको बताए ।

    गण्डकी प्रदेशसभा सदस्य श्यामराजा महत, शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले मुक्तिनाथ च्वयनधाम मिनी मुक्तिनाथको रुपमा विकास भइरहेको बताए ।

    च्यवन धाम र गौं संरक्षण केन्द्रको एकीकृत विकास एवं प्रवर्द्धनका लागि धार्मिक महोत्सव आयोजना गरिएको च्यवनधाम समितिका अध्यक्ष होमनाथ लम्सालले बताए । साउन २८ गतेसम्म सञ्चालन हुने सप्ताहव्यापी धार्मिक महोत्सवमा माधुर्य कथा वाचक पण्डित वालकृष्ण अर्यालले कथा वाचन गर्नेछन् ।