दमौली । तनहुँको भानु नगरपालिका–१ भन्सारमा सञ्चालित सर्वाधिक राशी पुरस्कार भएको सत्रौ भानु कपको उपाधि गोरखाको च्याङ्ली स्पोर्टस्ले जितेको छ । आइतबार सम्पन्न फाइनल खेलमा तनहुँको शुक्लागण्डकीस्थित लिभिक कन्स्ट्रक्सनलाई हराउँदै भानु कपको उपाधि च्याङ्लीले जितेको हो ।
उक्त खेलमा च्याङ्ली १–० गोल अन्तरले विजयी भएको छ । खेल बराबरी गर्ने थुप्रै अवसर गुमाउँदा लिभिक उपविजेतामा सीमित बनेको छ ।
शनिबार भएको सेमिफाइनलमा भानुको फ्रेण्डसीप युवा क्लवलाई पराजित गर्दै शुक्लागण्डकीस्थित लिभिक कन्स्ट्रक्सन फाइनलमा प्रवेश गरेको थियो । त्यस्तै दोस्रो सेमिफाइनल खेलमा सूर्यपुर एफसी चितवनलाई २–० ले पराजित च्याङ्ली फाइनल प्रवेश गरेको थियो ।
विजेता बनेसँगै च्याङ्ली नगद रु दुई लाख ५० हजार दुई सय ११ र ट्रफी प्राप्त गरेको छ । उपविजेता लिभिकले नगद रु एक लाख २५ हजार दुई सय ११ र ट्रफीमा चित्त बुझाउनुपरेको छ ।
प्रतियोगितामा सेमिफाइनलमा पुगेको भानुस्थित फ्रेण्डसीप युवा क्लव र चितवनको सूर्यपुर एफएसी क्लवलाई नगद रु २५ हजार दुई सय ११ प्रदान गरिएको छ । विजेताहरुलाई प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री शङ्कर भण्डारीले पुरस्कार वितरण गरेका छन् ।
भानुभक्त आचार्यको जन्मथलो चुँदीरम्घाको प्रचारप्रसारका लागि क्लवले प्रत्येक वर्ष प्रतियोगिता आयोजना गर्दै आएको छ । क्लवका अध्यक्ष अर्जुनकुमार श्रेष्ठका अनुसार प्रतियोगितामा २४ समूहको सहभागिता रहेको थियो ।
प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई नगद रु पाँच हजार दुई सय ११, उत्कृष्ट गोलरक्षकलाई नगद रु पाँच हजार दुई सय ११, सर्वाधिक गोलकर्तालाई नगद रु पाँच हजार दुई सय ११ प्रदान गरिएको जनाइएको छ ।