दमौली । पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य शङ्कर भण्डारीले जनप्रतिनिधि र कर्मचारी जनताप्रति उत्तरदायी हुनुपर्ने बताएका छन् । जनताले सहज रुपमा सेवा पाउनुपर्ने बताउँदै भण्डारीले कुनैपनि बहानामा सेवामा ढिलासुस्ती नगर्न आग्रह गरे ।
जिल्ला समन्वय समिति तनहुँको आयोजनामा आइतबारदेखि सुरु आर्थिक वर्ष २०८०÷८१ मा जिल्लास्थित सबै पालिका, कार्यालय र निकायबाट सञ्चालित विकास निर्माण सम्बन्धी वार्षिक प्रगति समिक्षा कार्यक्रममा भण्डारीले भने, “जनतालाई सन्तुष्टि हुने गरी सेवा प्रवाहमा ढिलाइ गर्नुहुँदैन । हाम्रो काम र कर्तव्य के हो भन्ने कुरा बुझेर जनताप्रति समर्पित हुनुपर्छ ।” भण्डारीले प्राकृतिक स्रोतसाधनको सदुपयोग गरी जिल्लालाई समृद्ध जिल्लाको रुपमा विकास गर्न सबै एकजुट हुुनुपर्नेमा जोड दिँदै तीन तहको सरकारबीच हातेमालो आवश्यक रहेको उल्लेख गरे ।
राष्ट्रिय सभा सदस्य सुरेश आले मगरले विकासका लागि पुँजीगत खर्च बढाउनुपर्ने बताए । कर्मचारी स्थायी सरकार भएकाले विकास निर्माणमा कर्मचारीको इमानदार हुनुपर्ने उनले बताए ।
जिल्लास्थित सबै कार्यालयले एक वर्षमा गरेका कामको प्रगति विवरण सार्वजनिक र समस्याबारे छलफल गर्न समन्वय समितिले वार्षिक प्रगति समिक्षा कार्यक्रम आयोजना गरेको हो । दुई दिनसम्म सञ्चालन हुने कार्यक्रममा जिल्लास्थित सबै स्थानीय तह, प्रदेश सरकार मातहतका कार्यालय, सङ्घीय सरकार मातहतका कार्यालयले एक वर्षमा गरेका प्रगति सार्वजनिक गरिने जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले जानकारी दिए ।