आँबुखैरेनी अस्पतालमा डेङ्गु सङ्क्रमितको निःशुल्क उपचार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    आँबुखैरेनी अस्पतालमा डेङ्गु सङ्क्रमितको निःशुल्क उपचार

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    दमाैली । तनहुँको आँबुखैरेनी अस्पतालमा डेङ्गु सङ्क्रमितको निःशुल्क उपचार गरिने भएको छ । अस्पतालले लक्षित वर्गलाई डेङ्गु सङ्क्रमणमा निःशुल्क उपचार गर्ने व्यवस्था मिलाउने निर्णय गरेको हो ।

    आँबुखैरेनी गाउँपालिकाअन्तर्गत डेङ्गु रोगको प्रकोपको कारणले उत्पन्न सङ्कटको समयमा सबैलाई आवश्यक स्वास्थ्य सेवाको पहुँचमा पु¥याउने उद्देश्यले प्रारम्भिक लक्षण देखिएका सबैलाई निःशुल्क डेङ्गु परीक्षण र लक्षित वर्गलाई निःशुल्क उपचार उपलब्ध गराइने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवं गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए।

    प्रारम्भिक लक्षण देखिएका सबैलाई ‘¥यापिड डाइग्नोष्टिक टेष्ट’ विधिबाट परीक्षणको व्यवस्था मिलाइएको उनले बताए । त्यस्तै, गरिब तथा आर्थिक रुपले विपन्न, नवजात शिशु, गर्भवती, सुत्केरी, बेवारिसे, अपाङ्ग, सहाराविहीन अशक्त एवं अपाङ्गता तथा ज्येष्ठ नागरिकलाई औषधि र आवश्यक परेमा अस्पतालमा भर्नालगायत सम्पूर्ण खर्च गाउँपालिकाको सिफारिसमा बेहोरिने चुमानले बताए ।

    आँबुखैरेनीमा केही दिनयता डेङ्गु सङ्क्रमित बढेकाले सतर्कता अपनाउन आवश्यक रहेको अस्पताल प्रमुख डा डिबी क्षेत्रीले बताए। डेङ्गु रोग लामखुट्टेको टोकाइबाट सर्ने भएकाले लामखुट्टेको टोकाइबाट बच्ने तथा लामखुट्टेको बासस्थान नष्ट गर्नुपर्ने डा क्षेत्रीले बताए । उनले भने, “सुत्दा सधैँ झूलको प्रयोग गर्नुपर्छ, लामखुट्टेको टोकाइबाट बचाउने धुप तथा झोलको प्रयोग गर्न सकिए यसबाट बच्न सकिन्छ ।” त्यस्तै, पूरै बाहुला भएका अथवा लामो बाहुला भएका कपडा लगाउन, ट्याङ्की र कुलरहरु हप्तामा एकचोटी सफा गर्न डा क्षेत्रीले आग्रह गरे ।

    जिल्लामा सबैभन्दा बढी डेङ्गु सङ्क्रमण आँबुखैरेनीमा पुष्टि भएको छ । सोमबारसम्म जिल्लाभर आठ सय २२ सङ्क्रमित हुँदा आँबुखैरेनीमा मात्रै छ सय चारजनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी सुदीप कँडेलले जानकारी दिए।

    कँडेलका अनुसार व्यास नगरपालिकामा ५७, शुक्लागण्डकी नगरपालिकामा एक सय २३, भिमाद नगरपालिकामा दुई र बन्दीपुर गाउँपालिकामा ३६ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ ।

    एक्कासि तीनदेखि पाँच दिनसम्म ज्वरो आउनु यो रोगको मुख्य लक्षण हो । यसरी आएको ज्वरो पाँचदेखि सात दिनसम्म रहिरहन सक्दछ । यसका साथै बेस्सरी टाउको दुख्नु, आँखाको गेडी दुख्नु, शरीरमा डाबर आउनु, अरुचि हुनु, जोर्नी तथा मांसपेशी बेस्सरी दुख्नु, पेट तथा आन्द्रामा गडबडी हुनु पनि डेङ्गुको लक्षण भएको चिकित्सकको भनाइ छ ।