दमौली । पहिराका कारण बुद्धसिंह मार्ग अवरुद्ध भएको छ । तनहुँको बन्दीपुर गाउँपालिका–६ ढापमा पहिरा जाँदा उक्त खण्ड एक सातादेखि पूर्ण रुपमा अवरुद्ध छ ।
बर्खाका बेला बुद्धसिंह मार्गका विभिन्न ठाउँमा पहिराले सवारी साधन सञ्चालनमा समस्या हुँदै आएको स्थानीय सिद्धान्त गर्जा मगरले जानकारी दिए । बुद्धसिंह मार्ग अन्तर्गत अन्यत्र ठाउँमा समेत पहिराले बाटोहरु बन्द रहेको उनको भनाइ छ ।
एक सातादेखि बाटो अवरुद्ध भएर सवारी साधन सञ्चालन नहुँदा यस भेगका सर्वसाधारणलाई आवतजावतमा समस्या भएको छ । उनले भने, “पहिराको समस्या हरेक वर्षको बर्खामा हुन्छ । सवारी साधन सञ्चालन गर्न मिल्दैन ।” स्थानीयवासीले ढापमा मानिस हिँडडुल गर्न मिल्ने गरी केही पहिरा सफा गरेका छन् । आज बिहान स्थानीयवासीले पहिराले खसेको ढुङ्गा पन्छाएर हिँडडुल गर्न मिल्ने मात्रै बाटो बनाएको मगरले बताए ।
गण्डकी प्रदेशको गौरवको आयोजनाको रुपमा रहेको बुद्धसिंह मार्गले तनहुँको सदरमुकाम दमौली र चितवनको घुमाउने जोड्छ । उक्त सडक हुँदै बन्दीपुर, देवघाट र आँबुखैरेनी गाउँपालिका केही वडाका हजारौं नागरिकहरु दैनिक आवतजावत गर्ने गर्छन् ।
गण्डकी प्रदेशलाई चितवन र तराईका अन्य जिल्लासँग जोड्ने सबैभन्दा छोटोदूरीको वैकल्पिक सडकको रुपमा उक्त सडकलाई लिने गरिएको छ । उक्त बुद्धसिंह मार्गलाई मुग्लिन–नारायणगढ सडकसँग जोड्ने चितवनको घुमाउनेमा पक्कीपुल निर्माणाधिन अवस्थामा छ । सो पुलको निर्माण सम्पन्न पश्चात बाटो छोटिन्छ । पुल निर्माणपछि सो सडक हुँदै यात्रा गर्दा हाल सञ्चालनमा रहेको पृथ्वीराजमार्गको मुग्लिन हुँदै नारायणगढ जानुभन्दा करिब २५ किलोमिटर छोटो पर्छ ।