एक महिना बन्द रहेको छाब्दीवाराही र ढोरवाराहीमा आजदेखि नियमित पूजा सुरु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    एक महिना बन्द रहेको छाब्दीवाराही र ढोरवाराहीमा आजदेखि नियमित पूजा सुरु

    खबरपुञ्ज संवाददाता

    ३२ श्रावण २०८१, शनिबार

    दमौली । एक महिनासम्म पूजाआजा रहेका तनहुँका दुई प्रसिद्ध धार्मिकस्थलमा आज शनिबारदेखि नियमित पूजा सुरु भएको छ । साउन महिनाभर बन्द रहेका व्यास नगरपालिका-१४ स्थित छाब्दीवाराही र शुक्लागण्डकी नगरपालिका-९ स्थित ढोरवाराही मन्दिर आज भदौ १ देखि भक्तजनका लागि खुल्ला गरिएको छ ।

    मत्स्य अवतार देवीको रुपमा पुजिने मन्दिरमा मत्स्य अवतार वाराही देवी साउन महिनाभर गुफा बस्ने भएकाले मन्दिरमा एक महिना पूजाआजा बन्द गरिएको छाब्दी वाराही मन्दिर विकास कोषका अध्यक्ष प्रेम थापाले जानकारी दिए । त्यस्तै मन्दिरमा हरेक एकादशी र औशीमा समेत पूजाआजा बन्द हुनेछ । एक महिनापश्चात् आजबाट पूजा सुरु भएको जानकारी दिँदै उनले भने, ‘आज पहिलो दिन शनिबार परेकाले यहॉ पूजाआजा गर्न आउने भक्तजनको उपस्थिति उल्लेख्य रहनेछ ।’

    छाब्दी बाराहीमा सुनको टीका भएको माछाको रूपमा जलदेवी बसेकी जनविश्वास गरिन्छ । मन्दिर बाहिर खोलामा पनि हजारौं माछा छन् । छाब्दी कुण्डमा स्नान गरी उपवासपूर्वक पूजा गरेमा सबै खाले पापबाट मुक्त भइन्छ र मनोकामना पूरा हुने जनविश्वास छ ।

    मन्दिरमा तीन जना मगर जातिका पुजारी रहेका छन् । यहॉ साउन, एकादशी र औशी बाहेकका दिनमा बली चढाइने गरिन्छ । मन्दिरमा पूजाआजा गरेर मनले चिताएको पूरा हुने धार्मिक विश्वास रहँदै आएको छ । यहाँ तनहुँ सहित छिमेकी जिल्ला कास्की, गोरखा, लमजुङ लगायतबाट भक्तजन आउने गरेका छन् ।

    यस्तै शुक्लागण्डकी नगरपालिका-९ स्थित प्रसिद्ध ढोरवाराही मन्दिरमा पनि आजदेखि नियमित पूजा सुरु भएको छ। मन्दिरमा साउन महिनाभर भाकल पूजा हुँदैन। हरेक वर्ष जस्तै साउन महिनाभर मन्दिरमा भाकल पुजा स्थगित भै साउनको अन्तिममा बहाली पुजा पश्चात पुनः सुरु हुनेछ।