रोटर्‍याक्ट दमौलीको पदस्थापना : अध्यक्षमा रविको पदभार ग्रहण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    रोटर्‍याक्ट दमौलीको पदस्थापना : अध्यक्षमा रविको पदभार ग्रहण

    खबरपुञ्ज संवाददाता

    ३२ श्रावण २०८१, शनिबार

    दमौली । रोटर्‍याक्ट क्लब अफ दमौलीको २२औं पदस्थापना कार्यक्रम शनिबार दमौलीमा सम्पन्न भएको छ । पदस्थापनासँगै रोटर्‍याक्ट क्लब अफ दमौलीको वर्ष २०२४-२५ का अध्यक्ष रवि अधिकारीले पदभार ग्रहण गरेका छन् ।

    कार्यक्रममा वर्ष २०२३-२४ का अध्यक्ष अनुज बिमलीले वर्ष २०२४-२५ का अध्यक्ष अधिकारीलाई सम्पुर्ण जिम्मेवारी हस्तान्तरण गरेका हुन् । साथै अध्यक्ष अधिकारीलाई कार्यक्रमका निवर्तमान अध्यक्ष बिमलीले कोलार लगाइदिएका थिए भने ग्याभल तथा हमर, चार्टर सर्टिफिकेट पुर्वअध्यक्षले हस्तान्तरण गरेका थिए ।

    अध्यक्ष अधिकारीलाई असिस्टेन्ट डिष्ट्रिक रोटर्‍याक्ट रिप्रिजेन्टेटिभ विश्व दर्शन पराजुलीले सपथ गराएका थिए भने अन्य पदाधिकारी तथा सदस्यलाई अध्यक्ष अधिकारीले सपथ ग्रहण गराएका थिए । साथै ६ जना नयाँ सदस्यहरुलाई रोटर्‍याक्ट डिष्ट्रिक ३२९२ नेपाल र भुटान जोन १५ का जेडआरआर रोशन खतिवडाले सपथ ग्रहण गराएका थिए ।

    कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले युवा र समाजमा क्लबले उल्लेख कार्य गरेको बताए । नगरपालिकाले पनि क्लबलाई निरन्तर सहयोग गर्दै आएको उनले बताए ।

    कार्यक्रममा रोटर्‍याक्ट डिष्ट्रिक ३२९२ नेपाल र भुटानका असिस्टेन्ट डिष्ट्रिक रोटर्‍याक्ट रिप्रिजेन्टेटिभ विश्व दर्शन पराजुलीले स्वार्थरहित सामाजिक सेवामा लाग्दा आत्मसन्तुष्टि मिल्ने गरेको बताए । साथै रोटर्‍याक्ट डिष्ट्रिक ३२९२ नेपाल र भुटानको कार्य क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्न नवनिर्वाचित अध्यक्ष अधिकारीलाई उनले आग्रह गरे ।

    रोटरी क्लब अफ दमौलीका अध्यक्ष जीवन कुमार श्रेष्ठले समाजको आवश्यकता बुझेर निरन्तर सामाजिक सेवामा रोटर्‍याक्ट दमौली लागेको बताए ।

    पदभार ग्रहण गर्दै अध्यक्ष अधिकारीले रोटर्‍याक्ट क्लव अफ दमौलीले यस वर्ष अगाडि सारेका योजनाको जानकारी दिँदै शिक्षा, स्वास्थ्य, वातावरण लगायतका कार्यक्रमलाई बढी प्राथमिकता दिने जानकारी दिए ।

    एउटा प्रतिष्ठित संस्थाको नेतृत्व गर्ने जिम्मेवारी पाएको बताउदै अधिकारीले आफ्नो कार्यकालमा क्लवमा उत्कृष्ट र रचनात्मक कार्य गर्ने प्रतिवद्धता जनाए ।

    सोही अवसरमा निवर्तमान अध्यक्ष अनुज बिमलीले आफ्नो कार्यकाल सफल बनाउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेका थिए । साथै उनले आफ्नो कार्यकालमा भएका सामाजिक एवं रचनात्मक कार्यको बारेमा जानकारी गराउदै आगामी नेतृत्वलाई शुभकामना दिएका थिए ।

    कार्यक्रममा क्लबका पुर्वअध्यक्ष मनोज राउतले स्वागत गरेका थिए भने क्लबका उपाध्यक्ष सुगत चन्द्र हड्खलेले धन्यवाद व्यक्त गरेका थिए । कार्यक्रम क्लबका सचिव पवन पौडेलले संचालन गरेका थिए ।

    सोही अवसरमा रोटर्‍याक्ट क्लब अफ दमौलीको नियमित प्रकाशन रोटर्‍याक्ट कोसेली डायरीको विमोचन गरिएको थियो । यस्तै कार्यक्रममा ३ जना विद्यार्थीलाई अध्ययनको लागी क्लबले सहयोग गरेको थियो । ३ जना विद्यार्थीलाई पछि सहयोग गर्ने क्लबले जनाएको छ ।

    बसन्त आधारभूत विद्यालयको कक्षा ६ मा अध्ययनरत मुस्कान थापा, सर्वज्योती माविको कक्षा ५ मा अध्ययनरत झरना डाँगी र वेदव्यास आधारभूत विद्यालयको कक्षा २ मा अध्ययनरत इशान परियारलाई स्टेशनरी, विद्यालय पोशाक सहित नगद एक हजार पाँच सयका दरले सहयोग गरिएको क्लबले जनाएको छ । साथै क्लबले सो अवसरमा ४ वटा परिवारको २२ जनाको स्वास्थ्य बिमा समेत गरेको छ ।