बन्दीपुरमा तीज सप्ताह उत्सव हुने, विजेताले एक लाख पाउने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    बन्दीपुरमा तीज सप्ताह उत्सव हुने, विजेताले एक लाख पाउने

    खबरपुञ्ज संवाददाता

    १ भाद्र २०८१, आईतवार

    दमौली । पहाडकी रानीले उपमाले परिचित पर्यटकीय एवं सांस्कृतिक ग्राम बन्दीपुरमा भदौ १६ देखि २३ गतेसम्म साताव्यापी बृहत्तर तीज सप्ताह उत्सव आयोजना गरिने भएको छ। उत्सव कार्यक्रम अन्तर्गत बृहत् खुल्ला तीज गीत प्रतियोगिता,  तीज सांस्कृतिक कन्सर्ट, तीज महिमा प्रवचन प्रस्तुत गरिने कार्यक्रम रहेको छ।

    त्यसैगरी  हालसम्म बाहिरी दुनियासँग कम प्रचारित धार्मिक शक्तिपीठहरु सिद्धेश्वर महादेव, खड्गदेवी मन्दिर, विन्ध्यावासिनी मन्दिर, तीनधारो ज्योतिर्लिङ्ग, सन्तानेश्वर महादेव, चामुण्डादेवी माई, थानीमाई मन्दिर, पुरानकोट देवी लगायतका मातृशक्तिरूपी देवीको दर्शन गराउने र सबै माझ यिनीहरूको महिमा एवं शक्ति बारे परिचित गराउने कार्यक्रम रहेको छ।

    उत्सवमा १० हजार बढी सांस्कृतिक पर्यटकहरू भित्र्याउने उद्धेश्य सहित बन्दीपुरमा क्रियाशील सबै सङ्घ संस्थाहरूको सहकार्य र ‘बन्दीपुर तिज सप्ताह उत्सव’ आयोजक समितिको आयोजनामा यस प्रकारको भव्य कार्यक्रम घोषणा गरिएको समितिका संयोजक किरण पोखरेलले बताए।

    चन्द्र निर्माण सेवा प्रा लि पोखरा मुख्य प्रायोजक, डिजाइन स्टेसन प्रा लि काठमाडौ सहप्रायोजक रहने यस कार्यक्रममा दर्जनभन्दा बढी संघसंस्थाहरूले विभिन्न विधाका लागि  प्रायोजन गर्ने समेत घोषणा गरेका छन्।

    उत्सव कार्यक्रम ७०० वर्षभन्दा लामो धार्मिक एवं प्राचीन मन्दिर “माँखड्गदेवी मन्दिर” प्राङ्गणमा हुने आयोजकले बताएको छ। तीज गीत प्रतियोगिताको लागि कम्तीमा ३० टिमले सहभागी जनाउनेछन् भने चर्चित कलाकारहरूले बेजोड सांस्कृतिक प्रस्तुति दिँदै बन्दीपुरलाई  गुन्जाउनेछन्।

    तीज गीत प्रतियोगिताको विजेता प्रथम टिमलाई रु १ लाख १ हजारको नगद पुरस्कार र प्रमाणपत्र, द्वितीयलाई रु ७५ हजार र प्रमाणपत्र, तृतीयलाई रु ५० हजार र प्रमाणपत्र, र अन्यलाई २५ हजार र प्रमाणपत्रको पुरस्कारले सम्मान गरिनेछ। यस अवसरमा बन्दीपुर केबलकारले केबलकारको  सवारीमा सांस्कृतिक पर्यटकहरूका लागि विशेष छुट समेत घोषणा गरेको छ।