दमौली । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा बुधबार साँझ ५ बजे खसेको भीषण पहिरा आज बिहानबाट मात्रै पन्छाइने भएको छ । पहिरा ठूलो रहेको र थप जोखिम रहेकाले बिहानबाट मात्रै पहिरा हटाउने काम हुने जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
थप पहिरा खस्ने सम्भावना रहेकाले सुरक्षाका कारण राति काम नगरी बिहानबाट मात्र काम हुने प्रहरी नायब उपरिक्षक दीपक रायले जानकारी दिए । उनले भने, “पहिरा पन्छाउन समय लाग्छ । रातिको समयमा काम गर्दा जोखिम भएकाले आज बिहानबाट काम हुन्छ ।”
सडकभन्दा माथिबाट डाँडै खस्दा उक्त खण्ड दुईतर्फी अवरुद्ध भएको छ । सडकमाथिबाट खसेको पहिरा सडकमुनि रहेको बुल्दीखोलासम्म पुगेको छ ।
पृथ्वीराजमार्गको सट्टामा वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको रायले बताए । साना सवारी साधनलाई दमौलीबाट तालघरे हुँदै रानीगाउँ निस्कन तथा घॉसीकुवाबाट रानीगाउँ तालघरे हुँदै दमौलीतर्फ आउन सकिने गरी सूचना प्रवाह गरेका छौ । ठूला सवारी साधनलाई भने लमजुङ हुँदै तनहुँको डुम्रेतर्फ निस्कने बाटो प्रयोग गर्न आग्रह गरिएको छ ।