दमाैली । तनहुँको व्यास नगरपालिका–४ स्थित धार्मिक तथा पर्यटकीय स्थल तनहुँ कालिका सहिद पार्कमा आज सरसफाई गरिएको छ । युवा अभियान्ता सुदीप गफ्फारको आव्हानमा नेपाली सेना, विद्यार्थी र स्थानीयको सहभागितामा पार्कमा सरसफाइ गरिएको हो ।
सदरमुकाम दमौलीबाट नजिकै रहेको यस ठाउँको प्रचारप्रसार गर्दै यस ठाउँको विकास गर्ने उद्धेश्यसहित कालिका पार्क सरसफाई गरिएको गफ्फारले बताए। कालिका सहिद पार्क हुँदै कालिका मन्दिरसम्म पुग्ने सिढी बाटो झाडीले गर्दा फोहर र नराम्रो देखिएकाले यसको सुन्दरता कायम गर्न सरसफाइ गरिएको उनकाे भनाइ छ ।
उनले भने, “धेरै सर्वसाधारण बिहान र साँझ यो बाटोमा हिँडडुल गर्ने गर्नुहुन्छ । तर झाडीले गर्दा उहाँहरुलाई समस्या भइरहेको थियो । यस ठाउँको प्रचारप्रसार गर्ने उद्धेश्यसहित सरसफाइ अभियानलाई जोडिएको हो ।”
व्यास नगरपालिका–४ का वडाध्यक्ष मनबहादुर गुरुङले सरसफाइ मानव जीवनका लागि अति महत्वपूर्ण रहेकाले यस्ता कार्यक्रमले सबैलाई सकारात्मक सन्देश दिने बताए।
सरसफाइ कार्यक्रममा व्यास नगरपालिका–५ चापाघाटस्थित कालीभञ्जन गण (इ) का सेना र व्यास नगरपालिका–४ स्थित कन्काइ ग्लोबल एकेडेमीका विद्यार्थीले सहभागिता जनाएका थिए ।
पृथ्वीराजमार्ग अन्तर्गत दमौली बजारबाट एक किमिको दूरीमा रहेको उक्त पार्कको माथिल्लो भागमा तनहँु कालिका मन्दिर छ । त्यहाँसम्म पुग्नका लागि पैदलमार्ग निर्माण गरिएको छ ।
तनहुँ कालिका मन्दिर मल्लकालिन प्यागोडा शैलीमा निर्माण गरिएको छ । रु तीन करोड लागतमा मन्दिर निर्माण गरिएको हो । तीन तले र ५५ फिट उचाईको मन्दिरमा विभिन्न नामका देवीदेवताका आकृति भएको ६० वटा टुडाल हालिएको छ भने मन्दिरमा ९ फिट उचाईको गजुर राखिएको छ ।