देशमा केही गर्न सकिन्छ भन्ने भावना बोकेर अगाडी बढ्नुपर्छ : मुख्यमन्त्री पाण्डे
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    देशमा केही गर्न सकिन्छ भन्ने भावना बोकेर अगाडी बढ्नुपर्छ : मुख्यमन्त्री पाण्डे

    खबरपुञ्ज संवाददाता

    ७ भाद्र २०८१, शनिबार

    दमाैली । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले देशमा केही गर्न सकिन्छ भन्ने भावना बोकेर अगाडी बढ्न युवाहरुलाई आग्रह गरेका छन् । जेसीआइ व्यास नगरको आयोजनामा शनिबार दमौलीमा आयोजित व्यास नगर साइनिङ स्टारको फाइनलमा सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले देश बनाउने जिम्मेवारी युवाको भएको भन्दै युवाहरु सकारात्मक भएर अगाडी बढ्नुपर्ने बताए ।

    देशमा केही भएन र केही हुँदैन भन्ने गलत भाष्य निर्माण गर्न खोजिएको भन्दै मुख्यमन्त्री पाण्डेले भने, “देशमा केही हुँदैन भनेर विदेश मात्रै ताक्ने हो भने मुलुकको भविष्य नकारात्मकतातिर जान्छ । सकारात्मक सोचका साथ देश बनाउन युवाहरु अगाडी आउनुपर्छ ।”

    मुख्यमन्त्री पाण्डेले युवा देश विकासको संवाहक भएको चर्चा गर्दै देश विकास गर्ने पनि युवाले नै भएको उल्लेख गरे । उनले भने, “जे कुरामा पनि नकारात्मकमात्रै सोच्ने हो भने देश कसले बनाउँछ ? देशमा प्रशस्त सम्भावना र अवसर छन् । त्यसको सदुपयोग गर्नुपर्छ ।”

    युवाहरुमा जागरण गर्नका लागि जेसीआइ स्थापित भएको र यसले सोही अनुसार काम गरिरहेको उनकाे भनाइ थियो । उनले भने, “युवाहरुमा नैराश्यता र निराशा, नकारात्मक सोच बढेर गएको छ । नेपालमा केही गर्न सकिदैन भन्ने युवाको भावना छ । त्यो नकारात्मक सोचलाई सकारात्मकतिर लैजानुपर्छ । मुलुकमा केही गर्न सकिन्छ भन्ने भावना विकसित गर्न जेसीआइको पनि महत्वपूर्ण भूमिका रहनुपर्छ ।”

    गण्डकी प्रदेशसभा सदस्य अशोककुमार श्रेष्ठले युवामा व्यक्तित्व र नेतृत्व विकासमा जेसीआइले सहयोग गरिरहेको बताए । व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने र म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बालबालिकामा रहेका प्रतिभा प्रस्फूटनका लागि साइनिङ स्टारले सघाउँदै आएको बताए । जेसीआइका राष्ट्रिय अध्यक्ष रविन पोख्रेलले जेसीआइले समाजमा आफ्नो छाप छाड्न सफल भएको बताए ।

    साइनिङ स्टारको फाइनलमा २० जना बालबालिका प्रतिस्पर्धी छन् । एक महिनासम्म विविध प्रशिक्षणपश्चात् आज फाइनलमा सहभागी बालबालिकामध्येबाट विजयी घोषणा गरिने जेसीआइ व्यास नगरका अध्यक्ष नविन पुरीले जानकारी दिए ।