दमौली । तनहुँको व्यास नगरपालिका–१४ स्थित छाब्दीवाराही मन्दिरको पुनर्निर्माण गरिएको छ । प्यागोडा शैलीमा मन्दिर पुनर्निर्माण गरी आकर्षक बनाइएको छ ।
गण्डकी प्रदेश सरकारको आर्थिक सहयोग र छाब्दीवाराही विकास कोषको आन्तरिक कोषबाट मन्दिरको पुनर्निर्माण गरिएको कोषका अध्यक्ष प्रेमबहादुर थापाले जानकारी दिए । थापाले रु ७० लाखको लागतमा मन्दिर पुनर्निर्माणको काम सम्पन्न गरिएको बताए ।
१४ महिना अगाडीदेखि निर्माण सुरु गरिएको मन्दिरको गत शुक्रबार उद्घाटन गरिएको छ । सोही अवसरमा मन्दिरमा छाब्दीवाराही देवीको मूर्ति प्रतिस्थापन गरिएको छ । मन्दिर निर्माणका लागि गण्डकी प्रदेश सरकारले रु २४ लाख सहयोग गरेको छ भने विकास कोषले रु ४६ लाख लगानी गरेको छ ।
गत वर्ष मन्दिरमा तामाको पाता छाउने काम गरिएको थियो भने यो वर्ष आँखीझ्याल, टुँडाल, ढोका हाल्ने काम गरिएको उनको भनाइ छ । उनले भने, “रु ८० लाखको लागतमा इष्टमेट भएकामा रु दश लाख कम खर्चमा मन्दिर पुनर्निर्माणको काम सकेका छौ ।”
मन्दिरमा प्रत्येक वर्षको साउन महिनामा मन्दिरमा बन्द हुनेछ । त्यस्तै प्रत्येक महिनाको एकादशी र आंैसीमा मन्दिरमा पूजाअर्चना हुँदैन । मन्दिरमा पूजाआजाका लागि देशका विभिन्न जिल्लाबाट भक्तजन आउने गरेका छन् ।
छाब्दी बाराहीमा सुनको टीका भएको माछाको रूपमा जलदेवी बसेकी जनविश्वास गरिन्छ । मन्दिर बाहिर खोलामा पनि हजारौं माछा छन् । छाब्दी कुण्डमा स्नान गरी उपवासपूर्वक पूजा गरेमा सबै खाले पापबाट मुक्त भइन्छ र मनोकामना पूरा हुने जनविश्वास छ ।
मन्दिरमा तीन जना मगर जातिका पुजारी रहेका छन् । यहॉ साउन, एकादशी र औशी बाहेकका दिनमा बली चढाइने गरिन्छ । मन्दिरमा पूजाआजा गरेर मनले चिताएको पूरा हुने धार्मिक विश्वास रहँदै आएको छ । यहाँ तनहुँ सहित छिमेकी जिल्ला कास्की, गोरखा, लमजुङ लगायतबाट भक्तजन आउने गरेका छन् ।