दमौली । पर्यटकीय एवं सांस्कृतिक ग्राम बन्दीपुरमा भाद्र १५ देखि सुभारम्भ हुने “तिज सप्ताहन्न उत्सवको” समुद्घाटन नेपाली फिल्म क्षेत्रका महानायक राजेश हमालले गर्ने भएका छन् । कार्यक्रम खड्गदेवी मन्दिर परिसरमा आयोजना गरिएको छ ।
नेपालकै ठुलो पुरस्कार राशी राखी खुल्ला तीज गित प्रतियोगीता, सांस्कृतिक कन्सर्ट, सांस्कृतिक झाँकी प्रर्दशनी र स्थानीय कला संस्कृतिको प्रस्तुती समेत सप्ताहन्न उत्सवको मुख्य आकर्षण रहेका छन् ।
१५ गते विहान केवलकारचोकमा भगवान् शिव जिको विशेष पुजा गरि केवलकार जात्रा शुरु गरिनेछ र खड्गदेवी मन्दिर पुगेर विशेष पुजा गरि दिउसो १ः०० बजे औपचारिक रुपमा भव्य उद्घाटन कार्यक्रम समारोह रहेको कार्यक्रम संयोजक किरण पोख्रेलले बताएका छन् ।
कार्यक्रम उल्लासय रुपमा बन्दीपुरलाई चिनाउने गरि तयार गरिएको आयोजकले दावी गरेको छ । पहिलो पटक बन्दीपुरका सबै संघ संस्थाहरु मिलेर आयोजन गरिएको यस कार्यक्रमको संरक्षण बन्दीपुर गाउँपालिका आफैले गरेको छ ।
कार्यक्रमको मुख्य व्यवस्थापन बन्दीपुर केवलकार एण्ड टुरिजम लि. ले गरेको छ । पुरुस्कारको प्रायोजन चन्द्र निर्माण सेवा प्रा.लि., डिजाईन स्टेशन प्रा.लि., केज कन्सल्टेन्ट प्रा.लि., विज बजार लि. लगाएत कम्पनीले गरेका छन् र बन्दीपुरका सबै संघ संस्थाहरु र स्थानीय बासीहरुले आर्थिक सहयोग दिने घोषणा गरेका छन् ।
उद्घाटन सत्र पछि साझँ हुने भव्य सांस्कृतिक कन्र्सटको लागि काठमाण्डौबाट आएकी चर्चित गायिका रीता के.सी. को मुख्य प्रस्तुती र अन्य कलाकारहरु समेतको बेजोड प्रस्तुती रहने छ । यस अवसरमा सहभागिहरुलाई बन्दीपुरको केवलकारमा दोहोरो सवारीमा रु.३५० मा चढ्ने व्यवस्था गरिएको छ ।
साथै कार्यक्रमको सहयोगको लागि प्रति टिकट रु.२५ रुपैयाँ दिने केवलकार कम्पनीले घोषणा गरेको छ । प्रत्येक दिन साँझ सांस्कृतिक कार्यक्रम र दिव्य महाआरती हुने आयोजकले बताएको छ । कार्यक्रम २२ गते सम्म निरन्तर संचालन हुनेछ ।