बन्दीपुरमा तीज सप्ताहन्न उत्सव सुरु, महानायक हमालद्वारा उद्घाटन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    बन्दीपुरमा तीज सप्ताहन्न उत्सव सुरु, महानायक हमालद्वारा उद्घाटन

    खबरपुञ्ज संवाददाता

    १४ भाद्र २०८१, शनिबार

    दमाैली । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा तीज सप्ताहन्न उत्सव शनिबारदेखि सुरु भएको छ । नेपाली महिलाको महान पर्व तीजको अवसरमा तीज सप्ताहन्न उत्सव आयोजना गरिएको हो ।

    खड्गदेवी मन्दिर परिसरमा आयोजना गरिएको उत्सव कार्यक्रममा खुल्ला तीज गीत प्रतियोगिता, सांस्कृतिक कन्सर्ट, सांस्कृतिक झाँकी प्रदर्शनी र स्थानीय कला संस्कृतिको प्रस्तुती रहने आयोजकले जनाएका छन् ।

    बन्दीपुर केबलकार एण्ड टुरिजम प्रालिको व्यवस्थापनमा सुरु भएको उत्सव भदौ २२ गतेसम्म सञ्चालन हुनेछ । उक्त कार्यक्रमको उद्घाटन गर्दै महानायक राजेश हमालले बन्दीपुर नेपालीलाई मात्रै नभइ विदेशीलाई समेत आकर्षित गरिरहेको बताए।

    पर्यटकीय हिसाबले, धार्मिक हिसाबले बन्दीपुरले विशेष स्थान ओगटेको बताउँदै हमालले बन्दीपुरको महत्व संरक्षण गर्नुपर्नेमा जोड दिए । उनले भने, “यहाँको संस्कृति, रितीरिवाज, परम्परालाई जोगाइराख्न स्थानीयवासीको महत्वपूर्ण भूमिका रहन्छ ।” हमालले आधुनिकताको नाममा संस्कृति, रहसहनबाट भुल्दै जान थालिएकाले यसको जगेर्ना गर्नुपर्ने अहिलेको आवश्यकता रहेको बताए।

    हमालले बन्दीपुरमा सञ्चालनमा आएको केबलकारले सबैलाई आकर्षित गरेको बताउँदै यस ठाउँको विकासका लागि यो सहयोगी बन्ने बताए ।

    बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले सप्ताहन्न कार्यक्रमले बन्दीपुरको पर्यटन प्रबद्र्धनका लागि सहयोग पुग्ने बताए ।

    सप्ताहन्न कार्यक्रमका संयोजक किरण पोख्रेलले संस्कृतिको संरक्षणका लागि कार्यक्रम आयोजना गरिएको खुल्ला तीज गीत प्रतियोगिताको पुरस्कार राशी जिल्लामै सर्वाधिक भएको दावी गरे ।

    तीज गीत प्रतियोगितामा ५० समूहको सहभागिता रहेको छ । प्रतियोगिता प्रथम हुने समूहलाई रु एक लाख एक हजार, द्वितीय हुने समूहलाई रु ७५ हजार, तृतीय हुनेलाई रु ५० हजार र सान्त्वना हुनेलाई रु २५ हजार नगद र प्रमाणपत्र प्रदान गरिने पोख्रेलले जानकारी दिए ।

    सप्ताहन्न कार्यक्रममा राष्ट्रिय कलाकारहरु प्रजापति पराजुली, पुरुषोत्तम न्यौपाने, हरिदेवी कोइराला, शर्मिला गुरुङ, लक्ष्मी न्यौपाने, सुनिता नेपाली, शान्ता डोटेल, सीता परियार लगायतको प्रस्तुती रहने बताइएको छ ।

    सोही अवसरमा धार्मिक शक्तिपीठहरु सिद्धेश्वर महादेव, खड्गदेवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, तीनधारे ज्योतिर्लिङ्ग, सन्तानेश्वर महादेव, चामुण्डादेवी माई, थानीमाई मन्दिर, पुरानकोट देवी लगायतका देवीको दर्शन गराउने कार्यक्रम रहेको छ ।