व्यास नपाद्वारा दुई टुहुरा विद्यार्थीको अभिभावकत्व ग्रहण, समता विद्यालयमा भर्ना
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    व्यास नपाद्वारा दुई टुहुरा विद्यार्थीको अभिभावकत्व ग्रहण, समता विद्यालयमा भर्ना

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    दमाैली । तनहुँको व्यास नगरपालिकाले दुई टुहुरा विद्यार्थीको अभिभावकत्व ग्रहण गरेको छ । व्यास नगरपालिका–१३ छाब्दी निवासी दुई टुहुरा बालबालिकालाई अध्ययन, खानबस्नको सम्पूर्ण व्यवस्थापन गर्ने गरी नगरपालिकाले अभिभावकत्व ग्रहण गरेको हो ।

    बाबुआमा बितेपछि अरुको घरमा काम गर्न बसेका दुवै जनालाई आइतबार नगरप्रमुख वैकुण्ठ न्यौपाने, वडाध्यक्ष बसन्त आलेले अभिभावकत्व ग्रहण गर्दै नगरपालिकाले स्थापना गरेको व्यास नगर समता विद्यालयमा भर्ना गरिएको छ ।

    No description available.

    कक्षा १ र ६ मा अध्ययनरत उनीहरु अब आवासीय विद्यालय नगर समता विद्यालयमा बसेर अध्ययन गर्नेछन् । विपन्न, असहाय, टुहुरा बालबालिकालाई अध्ययनमा सहयोग पु¥याउने उद्धेश्यले नगरपालिकाले व्यास नगरपालिका–७ मा नगर समता विद्यालय स्थापना गरेको छ ।

    उक्त विद्यालयमा हाल ५३ जना बालबालिका अध्ययन गर्छन् । नगरपालिकाले यस विद्यालयलाई देशकै एउटा नमुना विद्यालयको रुपमा विकास गर्दै लैजाने लक्ष्य लिएको नगर प्रमुख न्यौपानेको भनाइ छ । उनले भने, “यहाँ अध्ययन गर्ने बालबालिकाको सम्पूर्ण जिम्मेवारी नगरपालिकाले नै बहन गर्दै आइरहेको छ ।” न्यौपानेका अनुसार विद्यालयमा अध्ययनरत विद्यार्थीलाई खान, बस्नको व्यवस्थापन समेत यही गरिएको छ ।

    बन्द अवस्थामा रहेको क्यामिनकोट प्राथमिक विद्यालयलाई गत वर्षदेखि समता विद्यालयको रुपमा सञ्चालन गरिएको छ । विद्यालयमा अति विपन्न, अभिभावकविहिन, शिक्षाको पहुँचमा नरहेका बालबालिकालाई अध्ययनको व्यवस्था मिलाइएको छ । विद्यालयमा हाल कक्षा ५ सम्म अध्यापन हुँदै आएको छ । निकट भविष्यमा कक्षा समेत थप गरिने योजना बनाइएको छ ।