दमाैली । तनहुँको व्यास नगरपालिका–५ चापाघाटस्थित कालीभञ्जन गण (इ) बाट नेपाली सेनाका सिपाही दिक्षित भएका छन् । नौ महिने सैन्य तालिम लिएपश्चात् गणबाट सिपाही दिक्षित भएका हुन् ।
गणमा आज आयोजित कार्यक्रममा ९१ जना सिपाहीलाई शुशोभित एवं शपथग्रहण गराइएको छ । पश्चिम पृतना हेडक्वाटरका चिफ अफ स्टाफ सहायकरथी अर्जुन खड्काले सिपाहीहरुलाई शुशोभित गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै सहायकरथी खड्काले नेपाली सेना बलियो भए राष्ट्र बलियो हुने बताउँदै सेनामा प्रवेश गरेका सिपाहीहरुलाई सेनाको मर्यादाभित्र रहेर देश र जनताको निस्वार्थ सेवामा तल्लिन हुन निर्देशन दिए।
स्वच्छ छवि बनाएको नेपाली सेनाले देश र जनताको सदैव सेवा गर्दै आएको बताउँदै खड्काले राष्ट्रियता, स्वाधिनता रक्षाका लागि सशक्त भूमिका निर्वाह गर्दै आएको बताए।
उपलब्ध सीमित स्रोत र साधनको उपयोग गरी सक्कल दर्जालाई उच्चस्तरको तालिम प्रदान गर्दै आइरहेको बताउँदै खड्काले सेनाले प्रदर्शन गर्दै आएको उच्च कार्यकौशलता यसको ज्वलन्त उदाहरण भएको चर्चा गरे। नेपाली सेनाको मूल्य, मान्यता र परम्परालाई पालना गर्दै जस्तोसुकै अवस्थामा पनि नेपाल आमा, नेपाली जनताको रक्षा गर्ने जिम्मेवारी नेपाली सेनाको रहेको उनको भनाइ थियो ।
कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापा लगायतको सहभागिता थियो ।
विसं २०६० मङ्सिर १७ ते चारपूर्व अवस्थित फिल्ड कम्पनीहरु (नं १, २, ३ र ६) लाई समायोजन गरी गणको स्थापना भएको थियो । स्थापनाकालदेखि हालसम्म कालीभञ्जन गण विभिन्न स्थानहरुमा स्थानान्तरण भइरहेको छ । यसगण गौचर व्यारेक एयरपोर्टमा स्थापना भई विसं २०६१ असोज ३ गते तत्कालिन श्री पश्चिम पृतना हेडक्वाटरको परिसरभित्रको फूलबारी व्यारेकमा स्थानान्तरण भएको थियो ।
२०६१ चैत १६ गते पोखरा विमानस्थलको सुरक्षार्थ पोखरा एयरपोर्टमा स्थानान्तरण भएको गण २०७५ वैशाख १४ गते एयरपोर्टबाट तत्कालिन श्री पश्चिम पृतना हेडक्वाटर परिसरभित्र विजयपुर व्यारेकमा स्थानान्तरण भएको थियो । नेपाली सेनाको अपरेशनल आवश्यकता अनुरुप गणलाई विसं २०७६ माघ १० गते चापाघाट व्यारेकमा स्थानान्तरण गरिएको गणपति प्रमुख सेनानी बसन्त कार्कीले जानकारी दिए।