दमौली । मुग्लिन- पोखरा सडक विस्तार योजना अन्तर्गत तनहुँको पूर्वी खण्डमा अन्तिम कालोपत्र सुरु गरिएको छ । तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकदेखि सत्रसय खण्डमा अहिले अन्तिम कालोपत्रको काम भइरहेको मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड) ले जनाएको छ ।
उक्त खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेले यसअघि कालोपत्र भइसकेको ठाउँमाथि नै अन्तिम चरणको कालोपत्रको काम सुरु गरिएको जानकारी दिए । उनले भने, “यसअघि सडकको मोटाइ छ सेन्टिमिटर थियो, अब त्यही ठाउँमा थप चार सेन्टिमिटरको काम हुनेछ ।” अन्तिम चरणको कालोपत्र अन्तर्गत हालसम्म दुई दशमलब चार किलोमिटर दूरीमा कालोपत्र सकिएको छ ।
पाण्डेका अनुसार पूर्वी खण्ड अन्तर्गत ६३ किलोमिटर दूरीमा कालोपत्र भएको छ । त्यसमध्ये २९ किलोमिटर खण्डमा चार लेन र पाँच किलोमिटर खण्डमा दुई लेनको कालोपत्र भएको छ । पाण्डेले भने, “पहिलो चरणमा एकतर्फी अन्तिम कालोपत्रे सकेर अर्कोतर्फ काम सुरु गरिनेछ । अन्तिम चरणको कालोपत्र सकिएपछि सडक रङरोगनको काम अगाडी बढ्नेछ ।”
पूर्वी खण्ड अन्तर्गत नै दमौलीको बुल्दीपुलदेखि घाँसीकुवातर्फको खण्डमा पनि एक÷दुई दिनभित्र कालोपत्रको काम सुरु गर्ने तयारी रहेको पाण्डेले बताए । दमौली बजारमा समेत सडक विस्तारका लागि अहिले नाला बनाउने काम भइरहेको छ । दमौली बजारमा केन्द्रविन्दुबाट २३÷२३ मिटरलाई आधार मानेर सडक विस्तारको काम हुनेछ ।
पाण्डेका अनुसार पूर्वी खण्डमा हालसम्म ६८ प्रतिशत प्रगति भएको छ । यो खण्डमा १४ वटा साना पुल निर्माण सकिएका छन् । व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदीमा निर्माण भइरहेको पुलको काम ४५ प्रतिशत सकिएको छ ।
पूर्वी खण्डमा विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ ।
विसं २०२६ सालमा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैङ्क (एडीबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । पूर्वी खण्डको ठेक्का रु छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा लागेको छ ।