काठमाडौ । नेपाल प्रिमियर लिग (एनपिएल) मा काठमाडौं गुर्खाजले पहिलो जित निकालेको छ। बुधबार कीर्तिपुरस्थित त्रिवि मैदानमा काठमाडौंले कर्णालीलाई ३ विकेटले पराजित गर्यो।
कर्णालीले दिएको १५० रनको लक्ष्य काठमाडौंले ३ बल खेल्न बाँकी छदा पूरा गर्यो।
काठमाडौंका लागि करण केसीले १० बलमा २८ रन जोडे। उनले २ चौका र २ छक्का प्रहार गर्दा काठमाडौं राहत भएको थियो। उनी १९औं ओभरको अन्तिम बलमा आउट भए। सोमपाल कामीको बलमा उनलाई देव खनालले बाउन्ड्रीमा उत्कृष्ट क्याच गरेका थिए। तर पनि काठमाडौंलाई जितका लागि अन्तिम ओभरमा ७ रन चाहिएको थियो।
अन्तिम ओभरमा पहिलो बलमा चौका प्रहार गरेका सुमित महर्जनले जोडेको नटआउट ४० रन काठमाडौंका लागि महत्वपूर्ण सावित भयो। सुमितले ३७ बलमा ३ चौका र १ छक्का प्रहार गरे।
त्यसअघि गेराल्ड इरासमसले ३८ रनको योगदान गरे। १५औं ओभरमा जीशन मक्सुदको बलमा सोमपाल कामीले क्याच छाड्दा इरामसले जीवनदान पाएका थिए। त्यतिबेला उनले २५ रन जोडेका थिए। उनी १६औं ओभरमा गुल्झन झाको बलमा सोमपालबाटै क्याच भए। क्याच लिएपछि सोमपालले बल भुँइमा फ्याँक्दै ठूलो सेलिब्रेसन गरेका थिए। इरासमसले २८ बलमा ३ चौका र २ छक्का प्रहार गरे।