विराटनगरको पहिलो जित, लुम्बिनी स्तब्ध
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    विराटनगरको पहिलो जित, लुम्बिनी स्तब्ध

    खबरपुञ्ज संवाददाता

    १८ मंसिर २०८१, बुधबार

    काठमाडौं । नेपाल प्रिमियर लिग(एनपीएल) मा विराटनगर किङ्सले पहिलो जित दर्ता गरेको छ ।हाइस्कोरिङ थ्रिलरमा लुम्बिनी लायन्सलाई विराटनगरले दुई विकेटले हरायो ।

    लुम्बिनीले दिएको १९२ रनको लक्ष्य विराटनगरले एक बल बाँकी छँदा हासिल गरेको हो । दुवै तर्फबाट रन वर्षा भएको खेलको अन्त्यमा हिरो भए स्कटल्यान्डका क्रिस सोल ।

    नवौं विकेटका रुपमा सोल क्रिजमा आउँदा विराटनगरलाई ४ बलमा १३ चाहिएको थियो । उनले विवेक यादवलाई एक छक्का र दुई चौका हान्दै लुम्बिनीलाई स्तब्ध बनाए ।

    यादवले महंगो बलिङ गरे । उनले ३.५ ओभरमा बिनाविकेट ६४ रन खर्चिएका छन्, जुन यो एनपीएलमा कुनै पनि बलरले खर्चेको सबैभन्दा बढी रन हो ।

    टस हारेर पहिले ब्याटिङमा उत्रिएको लुम्बिनीले प्रतियोगिताकै उच्च स्कोर खडा गर्न सफल भएको थियो । बिराटनगरका लागि कप्तान रोहित पौडेलले सबैभन्दा बढी ४६ रन बनाए । २९ बलको सामना गरेका उनले २ छक्का र ४ चौका हिर्काएका थिए ।

    विराटनगरले अनुशासनहिन बलिङ गर्दै १४ वाइडसहित २९ अतिरिक्त रन खर्चिएको थियो, जसले गर्दा लुम्बिनीलाई ठूलो स्कोरमा पुग्न सहज भयो । आठौं नम्बरमा आएका बिवेक यादवले ७ बलमा ३ छक्कासहित १९ रन बनाउँदै लुम्बिनीको स्कोर उकासेका थिए ।

    लुम्बिनीका चार जना ब्याट्सम्यानहरु दुर्भाग्यपूर्णरुपमा रनआउट भए । विराटनगरका लागि सन्दीप लामिछाने, इस्मत आलम र राजेश पुलामीले एक–एक विकेट लिए । सन्दीपको एनपीएलमा पहिलो विकेट हो । कसिलो बलिङ गरेका उनले ४ ओभरमा २६ रन खर्चिए ।
    जवाफी ब्याटिङमा विराटनगरले खराब सुरुवात गरेको थियो । आज पनि अर्को लज्जास्पद हारको भय विराटनगरका समर्थकमा ब्याप्त थियो ।