क. एकदेव आलेको निधनका सन्दर्भमा अस्पष्टता –
– क. पुष्पलालले क.एकदेव आलेको निधन सन् १९६८ जनवरी २६ का दिन भएको कुरा लेख्नु भएको छ ।
– क. सि. पि. मैनालीले वि. सं. २०२४ माघ १२ गते तदनुसार सन् १९६८ जनवरी २६ का दिन क. एकदेव आलेको निधन भएको कुरा लेख्नु भएको छ । क. सि. पि. मैनालीले केही वर्ष पहिले दमौलीमा भएको कार्यक्रममा पनि यस विषयमा आफ्नो धारणा जोडदार रुपमा राख्नु भएको थियो ।
– क. वामदेव गौतमले वि. सं. २०२६ माघ १२ गते तदनुसार सन् १९६९ जनवरी २६ का दिन क. पुष्पलालको देहावसान भएको भनी लेख्नु भएको छ । यसमा वि. सं. र सन् को हिसाब मिलेको देखिदैन ।
– क. वेदुराम भुसालले सन् १९६९ जनवरी २६ तदनुसार वि. सं. २०२५ माघ १३ गते क. एकदेव आलेको निधन भएको कुरा लेख्नु भएको छ ।
– नेकपा संयुक्तका पूर्व महासचिव क. ठाकुर शर्माले वि. सं . २०२५ सालमा गोरखपुरको देवरिया कसयामा भएको नेकपाको सम्मेलनबाट क. एकदेव आले केन्द्रीय समितिको सदस्यमा निर्वाचित हुनुभएको विषय उल्लेख गर्नु भएको छ । उहाँले पनि क. एकदेव आलेको निधन भएको मिति वि. सं. २०२६ माघ १२ गते लेख्नु भएको छ ।
– क. नेत्र प्रसाद पन्थीले वि. सं. २०२५ सालमा गोरखपुरमा भएको सम्मेलनबाट क. एकदेव आले केन्द्रीय समितिको सदस्यमा निर्वाचित हुनुभएको कुरा उल्लेख गर्नु भएको छ । क. नेत्र पन्थीले सन् १९७० जनवरी २६ का दिन क. एकदेव आलेको निधन भएको कुरा लेख्नु भएको छ ।
– क. के. वि. गुरुङले पनि वि. सं. २०२५ साल जेठमा गोरखपुरमा भएको सम्मेलनबाट क. एकदेव आले केन्द्रीय समितिको सदस्यमा निर्वाचित हुनुभएको विषय उल्लेख गर्दै सोही वर्ष माघ १२ गते क. एकदेव आलेको निधन भएको कुरा लेख्नु भएको छ ।
– यसरी हेर्दा क. एकदेव आलेको निधन भएको मिति व्यक्ति अनुसार फरक फरक किसिमले सन् १९६८ जनवरी २६ , १९६९ जनवरी २६ र १९७० जनवरी २६ लेखिएको पाइन्छ । यसमा गहिरो गरी अध्ययन अनुसन्धान हुनु आवश्यक छ ।
– क. पुष्पलालले लेख्नु भएको मिति सन् १९६८ जनवरी २६ तारिखलाई क.एकदेव आलेको निधन भएको मिति मान्दा सो अनुसार वि. सं. मा २०२४ माघ १२ गते हुन आउँछ । तर क. एकदेव आलेका धेरैजसो समकालीन साथीहरुले उहाँ वि. सं. २०२५ सालमा गोरखपुरमा भएको सम्मेलनबाट केन्द्रीय सदस्य हुनु भएको कुरा लेख्नु भएको छ । त्यसो हो भने क. पुष्पलालले किन सन् १९६८ जनवरी २६ तारिखका दिन क. एकदेव आलेको निधन भएको कुरा लेख्नु भयो त ? गम्भीर प्रश्न निस्कन्छ । पक्कै पनि क. पुष्पलालको यो लेख विभिन्न पुस्तक , पत्रिकाबाट साभार गरी प्रकाशित हुँदै आएको छ । कतै साभार गर्ने क्रममा छपाईमा गल्ति हुन गएको त छैन ?
– सामान्यतया सन् मा ५७ वर्ष जोडेर वि. सं. निकाल्ने गरिन्छ । तर यो पुर्ण रुपमा सही होइन । सन् मा ५६ – ०८ – १६ (कहिले कहिले १७ पनि हुन सक्छ ) जोड गरी वि . सं. निकाल्न सकिन्छ । यहाँ क. एकदेव आलेको निधन सन् मा १९६९ जनवरी २६ लेखी वि . सं. मा २०२६ माघ १२ गते लेख्नु हुने लेखकहरूले यो अङ्क गणितलाई ध्यान दिनु भएको देखिदैन ।