बन्दीपुर घुमेर फर्कदैथिए पाँच साथीभाई, आँबुखैरेनी दुर्घटनामा परेर अस्ताइन चितवनकी सुमिना
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    बन्दीपुर घुमेर फर्कदैथिए पाँच साथीभाई, आँबुखैरेनी दुर्घटनामा परेर अस्ताइन चितवनकी सुमिना

    खबरपुञ्ज संवाददाता

    १८ माघ २०८१, शनिबार

    चितवन । चितवनको रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयमा अध्ययनरत पाँच विद्यार्थी तनहुँको बन्दिपुर घुमेर फर्कदैगर्दा दुर्घटनामा परेका छन । बिएससी एजी सातौ समेष्टरमा अध्ययनरत उनिहरु बिदाको समय पारेर बन्दिपुर घुम्न गएका थिए ।

    शुक्रबार चितवन फर्कदैगर्दा उनिहरु सवार बस तनहुँको आँबुखैरेनी गाउँपालिका–१, सत्रसयमा दुर्घटनामा पर्‍यो । दुर्घटनामा परेर भरतपुरकी सुमिना सापकोटाको निधन भएको छ । उनका साथिहरु आइसा पौडेल, आस्था काफ्ले, अन्जली शाह, लक्ष्मी विनाबी घाइते भएका छन । उनिहरुको भरतपुरको नारायणी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । घाइते चार जनाको अवस्था सामान्य रहेको बताइएको छ ।

    बिएससी एजी सातौ सेमेष्टरमा अध्ययनरत निकेश शर्माले भनेः पढाइ सकेर इन्टनसिपमा जाने तयारी थियो । शुक्रबार दुःखद घटना भयो । रामपुर कृषि क्याम्पस शोकमा छ । कृषि तथा वन विज्ञान विश्वविद्यालयका डिन अर्जुन कुमार श्रेष्ठले पनि दुर्घटनामा विद्यार्थी परेको पुष्टि गर्नुभयो । मृतक सुमिनाको शव पोष्टमाटमका लागि भरतपुर अस्पतालको शवगृहमा राखिएको छ ।

    जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक अशोक थापाले दुर्घटनामा घाइते सुमिनालाई उपचारका लागि आँबुखैरेनी अस्पताल पुर्‍याए पनि चिकित्सकले तत्काल मृत घोषणा गरेका थिए । सुमिना सवार बा ५ ख २९९९ नम्बरको बस पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–१, सत्रसयमा हिजो (शुक्रबार) सडक छेउको कल्भर्टमा पल्टिएको थियो । दुर्घटनामा १३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    दुर्घटनामा कैलाली जोशीपुरका २३ वर्षीया लक्ष्मी बनादी, धनगढी बसबरिया गाउँपालिका–५ बस्ने २२ वर्षीया अन्जली शाह, तनहुँको म्याग्दे गाउँपालिका–७ बस्ने १९ वर्षीय किसान विक, व्यास नगरपालिका–१२ बस्ने १९ वर्षीय सुनिल विक, कास्कीको पोखरा महानगरपालिका–८ बस्ने २२ वर्षीया आयुषा पौडेल, गोरखाको सिरानचोक गाउँपालिका–४ बस्ने ५१ वर्षीय सुनिल ढकाल घाइते भएका छन् ।

    त्यसैगरी लमजुङको बेसीसहर नगरपालिका–३ बस्ने ४१ वर्षीय कृष्णबहादुर पाण्डे, तनहुँको व्यास नगरपालिका बस्ने १३ वर्षीया आस्था काफ्ले, गोरखाको सिरानचोक गाउँपालिका–४ बस्ने ४२ वर्षीय रामशरण कुँवर, सहिद लखन गाउँपालिका–२ घर भई हाल बन्दीपुर गाउँपालिका–१ बस्ने ५९ वर्षीय उज्ज्वल विक, भानु नगरपालिका–१० बस्ने ५० वर्षीय खेमराज लौडारी र सोही ठाउँ बस्ने १७ वर्षीय प्रशान्त लौडारी घाइते भएको प्रहरीले जनाएको छ । उनीहरू मध्ये केहीको आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको छ । (नारायणी अनलाइनबाट)