दमौली । तनहुँमा दैनिकजसो सवारी दुर्घटना बढेपछि न्यूनीकरणका लागि जिल्ला प्रहरी कार्यालय तनहुँले पहल थालेको छ । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँका विभिन्न खण्डमा दुर्घटना बढेपछि प्रहरीले न्यूनीकरणका लागि पहल थालेको हो ।
मुग्लिनदेखि कोत्रेसम्म सडकको स्तरोन्नति भइरहेकाले सवारी चालकको लापरबाही र सडकको अवस्थाका कारण दिनप्रतिनिधि दुर्घटना बढिरहेको प्रहरीको भनाई छ । प्रहरीले सवारी चालकलाई सचेतना अपनाउँदै सवारी दुर्घटना न्यूनीकरणमा सघाउन आग्रह गरेको छ ।
ट्राफिक नियम, लेन अनुशासन, सडक संकेत तथा ट्राफिक लाईटहरुको सधैं पालना गरौं, जथाभावी ओभरटेक नगर्न, मादक पदार्थ तथा अन्य नशाजन्य पदार्थ सेवन गरी कहिल्यै सवारी नचलाउन, सवारी चलाउनु अगाडि आफ्नो सवारी साधन ठीक छ, छैन चेक जाँच गर्न, आफूभन्दा अगाडिको सवारी साधनसँग दूरी कायम गरेर मात्र सवारी साधन चलाउन, सवारी साधनको क्षमता भन्दा बढी यात्रु तथा सामानहरु बोकी नचलाउन, तोकिएको निश्चित स्थान (बस स्टप) मा मात्र यात्रुहरुलाई चढाउने र झार्ने गर्न आग्रह गरिएको छ ।
सवारी चलाउँदा आफ्नो ध्यान सडकमा मात्र केन्द्रित गर्न, सवारी चलाउँदा मोबाईल फोनको प्रयोग नगर्न, ठूलो आवाजमा रेडियो क्यासेटहरु नबजाउन, सवारी चलाउँदा तोकिएको गतिभन्दा छिटो नचलाउन आग्रह गरिएको छ ।
त्यस्तै मोटरसाइकल चालकले अनिवार्य रूपमा हेल्मेट प्रयोग गरी फिता समेत बाँध्ने गर्न, मोटरसाईकल तथा स्कुटरलाई आफूखुसी स्वरूप परिवर्तन नगर्न, पैदल यात्रु, ज्येष्ठ नागरिक, बालबालिका, बिरामी तथा फरक क्षमता भएका व्यक्तिहरुलाई सडकमा पहिलो प्राथमिकता दिन, रातको समयमा साइकल चलाउँदा टल्कने लुगाको प्रयोग गर्न आग्रह गरिएको छ ।