दमौली अस्पताल विस्तारको बाटो खुल्यो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    दमौली अस्पताल विस्तारको बाटो खुल्यो

    खबरपुञ्ज संवाददाता

    २० माघ २०८१, सोमबार

    दमाैली । तनहुँ सदरमुकामस्थित दमौली अस्पतालको विस्तारका लागि बाटो खुलेको छ । लामो समयदेखि जग्गा अभावका कारण अस्पताललाई पचास शय्यामा विस्तार गर्ने प्रक्रिया अघि बढ्न नसकेकामा अब प्राप्तिको बाटो खुलेको हो ।

    स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले अस्पतालको विस्तारका लागि भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ र कृषि ज्ञान केन्द्रले प्रयोग गर्दै आइरहेको मध्येको तीन रोपनी पाँच आना जग्गा प्राप्त गर्ने सहमतिसहितको प्रस्ताव गण्डकी प्रदेशमा पठाएका छन् ।

    यसअघि कृषि मन्त्रालयले सो जग्गा गर्नका लागि मन्त्रालयलाई सहमति दिइसकेको छ । अब गण्डकी प्रदेश मन्त्रिपरिषद बैठकले सहमति दिए पछि सङ्घ सरकारले जग्गा अस्पतालका लागि उपलब्ध गराउनेछ ।

    अस्पतालका लागि आवश्यकमध्ये भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको स्वामित्वमा रहेको पाँच आना तथा कृषि ज्ञान केन्द्रको स्वामित्वमा रहेको दुई रोपनी जग्गा प्राप्तिका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सहमति दिएको हो ।

    पृथ्वी राजमार्गको मध्यभागमा रहेको दमौलीमा अस्पताल विस्तारको विषय लामो समयदेखि उठे पनि जग्गा प्राप्तिसम्बन्धी निर्णय नहुँदा अघि बढ्न सकेको थिएन । दमौली अस्पतालको निरीक्षणका क्रममा मन्त्री पौडेलले अस्पतालका लागि जग्गा प्राप्तिको प्रक्रिया अघि बढाएरै छाड्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

    सोही अनुरुप अस्पतालको प्रस्ताव कृषि मन्त्रालय, अर्थ मन्त्रालय हुँदै अघि बढाउन मन्त्री पौडेलले पहल गरेकाे उनकाे सचिवालयले जनाएकाे छ । अब गण्डकी प्रदेशबाट स्वीकृतिपछि सङ्घ सरकारले अस्पताललाई जग्गा हस्तान्तरण गर्नेछ ।