म्याग्देमा तीन लाख राशीको प्रदेश स्तरीय फुटबल प्रतियोगिता हुने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    म्याग्देमा तीन लाख राशीको प्रदेश स्तरीय फुटबल प्रतियोगिता हुने

    खबरपुञ्ज संवाददाता

    २१ माघ २०८१, मंगलवार

    दमौली । म्याग्दे गाउँपालिकाले गण्डकी प्रदेशको पालिका स्तरीय नकआउट फुटबल प्रतियोगिता गर्नेभएको छ ।   
      
    ‘म्याग्देको पर्यटन विकासका लागि खेलकुद’ भन्ने मूल नाराका साथ आगामी फागुन १३ देखि २२ गतेसम्म वडा नम्बर ५ को छाङपाटन खेलमैदानमा उक्त प्रतियोगिता गरिने गाउँपालिकाले जनाएको हो ।   
      
    फुटबल खेलाडी उत्पादनमा उर्वर भूमिका रुपमा परिचित रहेको भन्दै गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले खेलकुदको माध्यमबाट म्याग्देको थप पहिचान गराउन उक्त प्रतियोगिता आयोजना गर्न लागिएको बताए ।   
      
    सो फुटबल प्रतियोगिताको प्रथम पुरस्कार राशि करसहित रु तीन लाख रहेको छ । त्यस्तै द्वितीय पुरस्कार रु एक लाख ५० हजार तथा विजेता र उपविजेता टिम र खेलाडीलाई ट्रफी, मेडल र प्रमाण–पत्रसमेत प्रदान गरिने जनाइएको छ ।   
      
    सेमिफाइनल पुग्ने दुई टिमलाई रु १५÷१५ हजार, ट्रफी, मेडल र प्रमाण–पत्र प्रदान गरिनेछ । त्यस्तै उक्त प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई नगद दश हजार र विधागत तर्फ सर्वाधिक गोलकर्ता, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलरक्षक र उत्कृष्ट प्रशिक्षकलाई जनही रु पाँच हजार र सेमिफाइनल पछिका हरेक खेलका म्यान अफ द म्याच खेलाडीलाई जनही रु पाँच हजार नगद पुरस्कार प्रदान गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए ।   
      
    त्यसैगरी जिल्लाका १० वटै पालिकाको सहभागितामा जिल्लास्तरीय सी लेभल व्याडमिन्टन प्रतियोगिता फागुन १६ र १७ गते वडा नम्बर ४ स्थित ब्याडमिन्टन कभर्डहलमा सञ्चालन गरिने भएको छ । उक्त प्रतियोगितामा प्रथम हुने टोलीलाई नगद रु ५० हजार, दोस्रो हुने टोलीलाई नगद रु ३० हजार तथा सेमिफाइनल पुग्ने दुई टोलीलाई नगद रु १०÷१० हजार, ट्रफी, मेडल र प्रमाण–पत्र प्रदान गरिने भएको छ ।   
      
    यसैगरी म्याग्दे गाउँपालिका दोस्रो अध्यक्ष कप–२०८१ को रुपमा वडा स्तरीय पुरुष तथा महिला भलिवल प्रतियोगिता फागुन ८ गतेदेखि १० गतेसम्म सञ्चालन हुने भएको छ । प्रतियोगितामा म्याग्दे गाउँपालिका अन्तर्गतका सात वडाका पुरुष तथा महिला भलिवल खेलाडीको सहभागिता रहनेछ ।   
      
    प्रतियोगितामा प्रथम हुने टोलीलाई रु ८० हजार र दोस्रो हुने टोलीलाई रु ५० हजार ट्रफी, मेडल र प्रमाण–पत्र प्रदान गरिने भएको छ । पुरुष तथा महिला भलिबलमा उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, उत्कृष्ट सर्भर, उत्कृष्ट सेटर, उत्कृष्ट व्लकर, उत्कृष्ट लिवरो र उत्कृष्ट प्रशिक्षकलाई पालिकाको लोगो अङ्कित खेलकुद पोसाक प्रदान गरिने प्रमुख प्रशासकीय अधिकृत अधिकारीले जानकारी दिए । उक्त सबै प्रतियोगिता सञ्चालनका लागि म्याग्दे गाउँपालिकाले चालु आर्थिक वर्षको लागि रु २० लाख विनियोजन गरेको छ ।   
    —