दमौली । प्रेस चौतारी नेपाल तनहुँ शाखाको अध्यक्षमा राजकुमार श्रेष्ठ विवि चयन भएका छन् । शाखाको मंगलबार सम्पन्न दशौ अधिवेशनबाट श्रेष्ठ पुन: अध्यक्षमा चयन भएका हुन् ।
अधिवेशनबाट उपाध्यक्षमा कृष्ण न्यौपाने, महिला उपाध्यक्षमा सुनिता आचार्य, सचिवमा ऋषिकान्त दुवाडी, सहसचिवमा किरण श्रेष्ठ र अन्जन परियार, कोषाध्यक्षमा सागर गिरी र सदस्यहरुमा विष्णुबहादुर सिंजाली र देव गजमेर सर्वसम्मत चयन भएका छन् ।
केन्द्रीय प्रतिनिधिमा प्रेमप्रसाद पौडेल, मदन तिमिल्सना र सम्झना रसाइली चयन भएका छन् ।
यसअघि अधिवेशनको उदघाटन गर्दै नेकपा एमालेका केन्द्रीय सदस्य एवं तनहुँ इन्चार्ज केदार सिग्देलले पत्रकार समाजको ऐना र मार्गदर्शक बन्नुपर्ने बताए । पत्रकारिता सत्य,निष्पक्ष र तथ्यगत हुनुपर्ने उनको भनाई थियो ।
उनले नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्तिका लागि पत्रकारको कलम महत्वपूर्ण भूमिका रहेको बताउँदै निरकुंश तन्त्रको अन्त्यका लागि पत्रकार निडर भएर लागेको स्मरण गरे ।
उनले भने, ‘स्वतन्त्रता नाममा छाडातन्त्र हुनुहुँदैन, त्यसका लागि पत्रकारले कलम चलाउनुपर्छ । नेपालको समृद्धिका लागि पनि पत्रकारको भूमिका हुनुपर्छ ।’
प्रेस चौतारी नेपालरा केन्द्रीय लेखा आयोग उपाध्यक्ष नवराज ढकालले प्रेस चौतारी हरेक पत्रकारको दुखसुखको संगठन बन्नुपर्ने बताए ।
कार्यक्रममा नेकपा एमालेका जिल्ला सचिव प्रदीपराज अधिकारी, प्रेस चौतारी नेपालका पूर्व अध्यक्ष प्रेमप्रसाद पौडेल, प्रकाशचन्द्र भट्टराई, नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष डिपी अधिकारी, प्रेस युनियन तनहुँका अध्यक्ष गोरा मियॉ लगायतले बोलेका थिए ।