दमौली । अन्तर्राष्ट्रिय क्यान्सर दिवसको अवसर पारी तनहुँमा मङ्गलबारदेखि एचपिभी खोप अभियान सुरु भएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँले व्यास नगरपालिका–२ स्थित बालमन्दिर माध्यमिक विद्यालयबाट खोप अभियान सुरु गरेको हो । व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले स्वास्थ्यकर्मीलाई खोप हस्तान्तरण गरी अभियान शुभारम्भ भएको घोषणा गरे ।
नगरपालिकाभित्रका १४ वटै वडाका विद्यालयमा पुगेर विद्यालय जाने तीन हजार आठ सय ९८ र विद्यालय नजाने दश छात्राहरुलाई यो खोप लगाइने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले बताए ।
कक्षा छ देखि १० कक्षासम्म अध्ययनरत (विद्यालय जाने) र १० देखि १४ वर्षसम्मका (विद्यालय नजाने) छात्राहरुलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप अभियान सञ्चालन गरिएको सोतीले जानकारी दिए ।
वडा नम्बर १ मा छ, वडा नम्बर २ मा चार, वडा नम्बर ३ मा तीन, वडा नम्बर ४ मा चार, वडा नम्बर ५ मा छ, वडा नम्बर ६ मा चार, वडा नम्बर ७ मा चार, वडा नम्बर ८ मा एक, वडा नम्बर ९ मा दुई, वडा नम्बर १० मा चार, वडा नम्बर ११ मा पाँच, वडा नम्बर १२ मा पाँच, वडा नम्बर १३ मा तीन र वडा नम्बर १४ मा एक खोप केन्द्र रहेका छन् ।
खोप अभियानमा जिल्लास्थित दशवटै स्थानीय तहका विद्यालयमा अध्ययनरत १४ हजार हजार दुई सय ७८ छात्राहरुलाई एचपिभी खोप लगाइने प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।
एचपिभी खोप अभियान माघ २२ गतेदेखि ३० गतेसम्म सञ्चालन हुने कार्यालय प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिए । पहिलो चरणमा माघ २२ गतेदेखि २५ गतेसम्म व्यास नगरपालिका, भानु नगरपालिका, देवघाट गाउँपालिका, बन्दीपुर गाउँपालिका र आँबुखैरेनी गाउँपालिकामा अभियान सञ्चालन गरिनेछ भने दोस्रो चरणमा माघ २७ गतेदेखि ३० गतेसम्म शुक्लागण्डकी नगरपालिका, भिमाद नगरपालिका, म्याग्दे गाउँपालिका, ऋषिङ गाउँपालिका र घिरिङ गाउँपालिकामा खोप अभियान सञ्चालन हुने अधिकारीले उल्लेख गरे ।
विद्यालय जाने कक्षा छ देखि १० सम्मका १४ हजार ७८ र विद्यालय नजाने दुई सय गरी कूल १४ हजार दुई सय ७८ छात्राहरुलाई खोप लगाइनेछ ।