दमाैली । तनहुँको भानु नगरपालिका–५ स्थित नेपालडाँडा सिद्धबाबा सामुदायिक वनभित्र भेटिएको शवको पहिचान नखुल्दा समस्या भएको छ ।
मङ्गलबार सामुदायिक वनको खोल्सामा महिला÷पुरुष छुट्याउन नसकिने अवस्थामा वेवारिसे शव फेला परेको थियो । प्रारम्भिक अनुसन्धानको कार्य सम्पन्न गरी शव पोष्टमार्टकमका लागि प्रदेश अस्पताल दमौलीमा राखिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक अशोक थापाले जानकारी दिए।
पाँच फिट चार इन्च उचाई, शरीरको माथिको भागमा लामो बाउला भएको रातो रङको टिसर्ट लगाएको, तल कालो पाइन्ट लगाएको, पहेलो बकल सहितको कालो बेल्ट लगाएको, दाहिने खुट्टाको तिघ्रामा हरियो ट्याटु खोपेको जस्तो देखिने अवस्थामा शव फेला परेकाले कोही कसैले चिनेको भए इलाका प्रहरी कार्यालय भानुमा सम्पर्क राख्न प्रहरीले आग्रह गरेको छ ।