दमौली । नेपाल विद्यार्थी संघ तनहुँले भिमाद-६ स्थित प्रभात बोर्डिङ स्कूलका विद्यार्थी प्रमिश परियारलाई कुटपिट गर्ने शिक्षिकालाई कारबाही गर्न माग गरेको छ ।
बुधबार प्रेस विज्ञप्ती प्रकाशित गरी संघले शिक्षिका सुष्मा श्रेष्ठलाई कानूनी कारबाही गर्न माग गरेको हो ।
संघका अध्यक्ष आशिष कैनीद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘विद्यार्थीमाथि शारीरिक यातना दिने कार्य कुनै पनि हालतमा स्वीकार्य हुन सक्दैन, र यस घटनाले सम्पूर्ण शिक्षा क्षेत्र, अभिभावक, तथा समाजलाई गहिरो चिन्ता व्यक्त गर्न बाध्य बनाएको छ ।’
विज्ञप्तीमा भनिएको छ, ‘विद्यालय भनेको शिक्षाको मन्दिर हो, विद्याालयलाई ज्ञान प्राप्त, बौद्धिक, सामाजिक, र नैतिक विकास गर्ने थलोको रुपमा मानिन्छ र जहाँ विद्यार्थीहरुलाई सुरक्षित वातावरणमा सिकाइ प्रक्रिया अगाडि बढाइन्छ तर, उक्त बालमैत्री वातावरण कायम गर्नुपर्ने जिम्मेवार शिक्षकबाटै अमानविय व्यवहार भएको खबर आउनु दुःखद तथा निन्दनीय विषय हो ।’
प्रभात एकेडेमी उपर पनि आवश्यक कारवाही अगाडि बढाउन भिमाद नगरपालिका, नगर शिक्षा शाखा र जिल्ला शिक्षा तथा समन्वय इकाई, तनहुँलाई अनुरोध गर्दै संघले पीडित विद्यार्थीले न्याय नपाईञ्जेल सम्म नेपाल विद्यार्थी संघ, तनहुँले चरणवद्ध आन्दोलनको कार्यक्रम अगाडि बढाउने कैनीले जानकारी दिए ।