विश्व रेडियो दिवसमा परोपकार ज्येष्ठ नागरिक आश्रममा रेडियो वितरण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    विश्व रेडियो दिवसमा परोपकार ज्येष्ठ नागरिक आश्रममा रेडियो वितरण

    खबरपुञ्ज संवाददाता

    ३० माघ २०८१, बिहीबार

    दमौली । रेडियोको महत्व र सान्दर्भिकता अझैपनि उत्तिकै रहेको तनहुँमा आयोजित कार्यक्रमका वक्ताहरुले बताएका छन् । विश्व रेडियो दिवसको अवसरमा सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) गण्डकी प्रदेशले बिहीबार व्यास नगरपालिका–५ स्थित परोपकार ज्येष्ठ नागरिक वृद्धाश्रममा आयोजना गरेको रेडियो वितरण कार्यक्रमका वक्ताहरुले उक्त कुरामा जोड दिएका हुन् ।

    सूचना र प्रविधिको विकाससँगै रेडियोको प्रभाव घटेको जस्तो देखिएपनि सहज रुपमा सूचना र समाचारको भरपर्दो स्रोतको रुपमा रेडियो रहेको वक्ताहरुको भनाइ थियो ।

    समुदायिक रेडियो प्रसारक सङ्घका केन्द्रीय सदस्य नवीनराज पौडेलले रेडियो सूचना र समाचारको भरपर्दो र सशक्त माध्यम रहेको बताए । नेपाल पत्रकार महासङ्घका निवर्तमान केन्द्रीय सदस्य प्रदीप काफ्लेले रेडियोमा समय सापेक्ष विषयवस्तुलाई समावेश गर्नुपर्ने आवश्यकता देखिएको चर्चा गरे ।

    नेपाल पत्रकार महासङ्घ तनहुँका सचिव कृष्ण न्यौपानेले सूचना प्रविधिको विकासले शहरी क्षेत्रमा रेडियोको प्रभाव घटेजस्तो देखिएपनि ग्रामीण क्षेत्रमा अझैपनि भरपर्दो माध्यम रेडियो नै रहेको बताए ।

    दलित पत्रकार सङ्घ गण्डकी प्रदेशका अध्यक्ष पूर्ण विकेले लोकतान्त्रिक आन्दोलनमा रेडियोहरुको भूमिका अविष्मरणीय रहेको बताए ।

    सो अवसरमा प्रसारक सङ्घले आश्रमलाई दुई वटा रेडियो वितरण गरेको थियो । सङ्घका गण्डकी प्रदेश अध्यक्ष ओमकार आचार्यले आश्रममा रहेका वृद्धवृद्धाहरुलाई सहज रुपमा सूचनाको पहुँचमा ल्याउन रेडियो वितरण गरिएको जानकारी दिए ।

    आश्रमका अध्यक्ष तारानाथ घिमिरेले सहयोगी दाताको सहयोगमा आश्रम सञ्चालन भइरहेको जानकारी गराउँदै रेडियोका माध्यमबाट यहाँका वृद्धवृद्धाले नयाँ नयाँ कुरा सिक्ने अवसर पाउने बताए ।

    कार्यक्रममा अकोराबका प्रदेश सदस्य शिवकुमार श्रेष्ठले रेडियोको महत्वका बारेमा प्रकाश पारेका थिए ।