दमाैली । व्यास नगरपालिकाभित्र बसोबास गर्ने विभिन्न जातजातिका कला, संस्कृति प्रदर्शन र संरक्षणका लागि दमौलीमा बुधबारदेखि तीन दिने सांस्कृतिक महोत्सव सुरु भएको छ ।
व्यास नगर प्रज्ञा प्रतिष्ठानको आयोजनामा व्यास नगरपालिका–३ खुल्ला मैदानमा सुरु भएको सांस्कृतिक महोत्सव शुक्रबारसम्म सञ्चालन हुनेछ ।
सांस्कृतिक महोत्सवको उद्घाटन गर्दै गण्डकी प्रदेशसभा सदस्य अशोककुमार श्रेष्ठले तनहुँ कला, संस्कृतिले धनी जिल्ला भएको उल्लेख गर्दै मौलिक संस्कृति जगेर्ना गर्नुपर्नेमा जोड दिए।
जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले नेपालको पहिचान भनेको संस्कृति र प्रकृति भएको बताउँदै यसको संरक्षण गर्नुपर्ने उल्लेख गरे ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का जिल्ला सचिव प्रदीपराज अधिकारीले नगरभित्र रहेका मौलिक संस्कृति संरक्षण गर्ने उद्धेश्यसहित आयोजित कार्यक्रम सराहनीय रहेको बताए। राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सभापति विश्व बास्तोलाले भाषा, संस्कृति लोप हुन दिन नहुने उल्लेख गरे।
पछिल्लो समय कला, संस्कृति लोप हुँदै गएकाले त्यसलाई संरक्षण गर्दै अहिलेका पुस्तालाई हस्तान्तरण गर्ने उद्धेश्यसहित कला संस्कृतिको संरक्षण गर्न पहल गरिएको प्रज्ञा प्रतिष्ठानका सदस्य देवीबहादुर बस्नेतले जानकारी दिए।
सांस्कृतिक महोत्सवमा विभिन्न जातजातिका बालन नाच, भजन, चुड्का, कौराहा, सोरठी, स्वराही, पाउदुरे, शङ्ख ध्वनि, झ्याउरे, घाँटु नाचका साथै मूर्ति, चित्रकला लगायतको प्रदर्शनी गरिनेछ ।
कार्यक्रममा सहभागी सबै जातीय समूहलाई नगद रु दश हजारका दरले सहयोग प्रदान गरिने जनाइएको छ । त्यस्तै झाँकीमा सहभागीमध्येबाट प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः रु दश हजार, रु सात हजार र रु पाँच हजार नगद पुरस्कार प्रदान गरिनेछ ।